असहज परिस्थितिका कारण त्रिवि परीक्षा स्थगित, नयाँ मिति असोज २, ४ र ५ तोकियो

त्रिभुवन विश्वविद्यालयले देशभर परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका निमित्त प्रमुख डा. सूर्यकान्त कलौनीका अनुसार भदौ २४, २५ र २६ गते तोकिएको स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) को परीक्षा सञ्चालन हुन नसक्ने भएको हो।
डाक्टर कलौनीले सोमबार विज्ञप्ति जारी गर्दै केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले उत्पन्न असहज परिस्थिति मूल्याङ्कनपछि सबै परीक्षा केन्द्रमा परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार स्थगित परीक्षा असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा पुनः सञ्चालन गरिनेछ।
त्रिविको परीक्षाले हजारौं विद्यार्थीको भविष्यलाई प्रत्यक्ष असर गर्ने भएकाले निर्णयलाई महत्वपूर्ण रूपमा लिइएको छ। पछिल्ला दिनमा सुरक्षाजन्य तनाव र देशभर बढ्दो अस्थिरताले शैक्षिक गतिविधि पनि प्रभावित हुन थालेका छन्। यसले परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई थप चुनौती थपिदिएको देखिन्छ।
पुनः तोकिएको मितिमा परीक्षा सहज र सुरक्षित वातावरणमा सम्पन्न होस् भन्ने अपेक्षा विद्यार्थी र अभिभावक दुवैको रहन्छ।