रौतहटमा जेनजी युवाको आवाज: “विद्यार्थी मार्न पाइँदैन” भन्दै शान्तिपूर्ण प्रतिरोध
रौतहटमा मङ्गलबार बिहानैदेखि ‘जेनजी’ युवाहरुले विभिन्न स्थानमा प्रदर्शन सुरु गरेका छन्। गौर–चन्द्रनिगाहपुर सडकखण्डको शेख इद्रिस गेट नजिक, दुर्गाभगवतीको गंगापिपरा, कटहरिया, गरुडा र चन्द्रनिगाहपुरलगायत ठाउँमा युवाहरु भेला भई आन्दोलनमा उत्रिएका हुन्।
चन्द्रनिगाहपुरको मुख्य सडक खण्डमा टायर बाल्दै सुरु भएको प्रदर्शन इलाका प्रहरी कार्यालय हुँदै चन्द्रपुर नगरपालिका कार्यालयसम्म पुगेको छ। यस्तै कटहरियामा पनि युवाहरुले इलाका प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन्। सहभागीहरुले “विद्यार्थी मार्न पाइँदैन” जस्ता नारा लगाएर सरकारको दमनकारी व्यवहारको विरोध जनाएका छन्।
स्थानीयवासीका अनुसार बिहानैदेखि सडक अवरुद्ध हुँदा सवारी आवागमनमा असर परेको छ भने व्यापारीहरुले पसलसमेत आंशिक रूपमा बन्द गरेका छन्। सोमबार राजधानी र विभिन्न शहरमा प्रचण्डरूपले हिंसात्मक बनेको आन्दोलनको छायाँ मंगलबार रौतहटसम्म फैलिएको देखिएको छ।
प्रहरीले परिस्थिति नियन्त्रणमा लिन बल प्रयोग नगरेको भए पनि तनावपूर्ण अवस्था कायमै रहेको छ। जेनजी आन्दोलन अब राजधानी मात्र नभई तराईका जिल्लासम्म फैलिन थालेपछि राजनीतिक नेतृत्व र सुरक्षातन्त्र थप दबाबमा परेको संकेत देखिएको छ। आगामी दिनमा यो आन्दोलन कुन दिशातर्फ जान्छ भन्ने प्रश्न अझै खुला छ।