समाचार

तनहुँ दमौलीमा युवाको शान्तिपूर्ण र्‍याली, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध आवाज

तनहुँ दमौलीमा युवाको शान्तिपूर्ण र्‍याली, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध आवाज

तनहुँको सदरमुकाम दमौली मंगलबार युवाले भरिएको देखियो। जेनजी पुस्ताका विद्यार्थी र स्थानीय युवाहरूले सामाजिक सञ्जालमार्फत आह्वान गर्दै सडकमा उत्रिएर भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा शान्तिपूर्ण र्‍याली निकाले। प्रदर्शनमा विभिन्न क्याम्पसका विद्यार्थी कलेज पोशाकमै देखिएका थिए भने, स्थानीय युवा समूह र सामान्य नागरिकको सहभागिता पनि उल्लेखनीय थियो।

प्रदर्शनकारीहरूले “भ्रष्टाचार एक अपराध हो, संस्कृति होइन”, “भ्रष्टाचारमुक्त नेपाल हाम्रो अभियान”, “रोजगारीमा समान अवसर” र “शिक्षामा गुणस्तर” जस्ता नारा बोकेर बजार परिक्रमा गरे। उनीहरूले नेताका परिवार र सामान्य नागरिकको जीवनस्तरबीचको ठूलो असमानतालाई प्रश्न गर्दै सरकार सुशासन दिन असफल भएको आरोप लगाए।

दमौली बजार वरिपरि गरिएको र्‍यालीलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालयले पर्याप्त सुरक्षाकर्मी परिचालन गरेको थियो। कोणसभामा सहभागी युवाहरूले आफ्नो आन्दोलन तत्काल नरोकिने चेतावनी दिँदै निरन्तर संवाद, सचेतना कार्यक्रम र आवश्यक परे चरणबद्ध आन्दोलन अघि बढाउने अठोट सार्वजनिक गरे।

यसअघि सोमबार पनि दमौलीमा युवाहरूले प्रदर्शन गरेका थिए। जिल्लाका प्रमुख बजार क्षेत्रमा समेत नेपाली राष्ट्रिय झण्डा बोकेर र भ्रष्टाचारविरोधी नारा लिएर युवाहरू सडकमा उत्रिएको दृश्यले आन्दोलन अब ग्रामीण बजारसम्म फैलिँदै गएको सङ्केत गरेको छ। परिस्थितिले नेपालका स्थानीय तहसम्म फैलिँदै गएको युवा असन्तुष्टिको गहिरो चेतावनी सरकारलाई दिएको देखिन्छ।