समाचार

अमेरिकी दूतावाससहित ९ देशका संयुक्त अपिल-"शान्ति, संवाद र स्वतन्त्रताप्रति हाम्रो दृढ समर्थन"

अमेरिकी दूतावाससहित ९ देशका संयुक्त अपिल-"शान्ति, संवाद र स्वतन्त्रताप्रति हाम्रो दृढ समर्थन"

काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा हालै देखिएका हिंसात्मक घटनाप्रति अमेरिकी दूतावाससहित नौ देशका नेपालस्थित दूतावासहरूले गहिरो दुःख र संवेदना प्रकट गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रकाशित संयुक्त विज्ञप्तिमा, दूतावासहरूले शान्तिपूर्ण सभा, अभिव्यक्ति स्वतन्त्रता र मौलिक अधिकारहरूको रक्षा गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।

संयुक्त वक्तव्यमा भनिएको छ :

“हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं। ज्यान गुमाउने दुःखद घटना र घाइते भएकाहरूप्रति हार्दिक संवेदना प्रकट गर्दछौं, साथै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत, नर्वे, जर्मनी र अमेरिकी दूतावासहरूले जारी गरेको यस वक्तव्यमा शान्तिपूर्ण आन्दोलन र स्वतन्त्र अभिव्यक्तिको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन दोहोर्‍याइएको छ। वक्तव्यमा सबै पक्षलाई अधिकतम संयमता अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिइ संवादमार्फत समाधान खोज्न आग्रह गरिएको छ।

यस्तै, अमेरिकी दूतावासले आफ्नो कन्सुलर सेवा र भिसा अपोइन्टमेन्टहरू आज बाँकी दिनका लागि स्थगित गरिएको पनि जनाएको छ। दूतावासले सबै आवेदकहरूलाई अतिरिक्त शुल्कबिना नयाँ अपोइन्टमेन्ट लिन सकिने सुविधा उपलब्ध गराएको छ।

यस सकारात्मक सन्देशलाई धेरैले नेपालमा अन्तर्राष्ट्रिय समुदायको समर्थन र शान्तिपूर्ण समाधानको प्रतिवद्धताका रूपमा हेरेका छन्। विज्ञप्तिले नेपालमा स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्दै आगामी समाधानका लागि सबैलाई संयमता र संवादको बाटो रोज्न सन्देश दिएको छ।