रौतहटमा जेनजी आन्दोलन उग्र : नगरपालिका र प्रहरीको गाडी जलेपछि कर्फ्यु घोषणा
रौतहटको चन्द्रनिगाहपुरमा जेनजी आन्दोलन तीव्र बनेपछि सोमबार स्थिति थप तनावग्रस्त बनेको छ। बिहानैदेखि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूले प्रहरीको एउटा गाडीमा आगजनी गरेका छन्। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुङले प्रहरीले संयमता अपनाएर स्थिति नियन्त्रण गर्ने प्रयास गरेको बताउनुभयो।
स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिकाभित्र आज साढे ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार कर्फ्यु उत्तरमा चन्द्रनिगाहपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्याङ्कीसम्म, पूर्वमा चाँदी खोलाको पूल पारीसम्म, दक्षिणमा घोडदेवी मन्दिरसम्म र पश्चिममा महेन्द्र राजमार्गस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको पोष्टसम्म लागू हुनेछ। आदेशअनुसार कर्फ्यु क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ निषेध गरिएको छ।
यद्यपि प्रशासनले कर्फ्यु जारी गरे पनि आन्दोलनकारीको गतिविधि पूर्ण रूपमा रोकिएको छैन। यसअघि नै जेनजी समूहले चन्द्रपुर नगरपालिका कार्यालयमा आगजनी गर्दा नगरपालिकाको एउटा गाडी, दुई वटा स्कुटर र एउटा पानी ट्याङ्कर जलेर नष्ट भएको छ। आगलागीले नयाँ भवन नजिकैको पुरानो संरचनामा समेत क्षति पुर्याएको छ भने कार्यालयका महत्वपूर्ण कागजात जलेर नष्ट भएको नगरपालिकाले जनाएको छ।
कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक नियोग, पर्यटक सवारी तथा हवाई टिकट देखाउने यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था गरिएको छ। तर हिंसात्मक गतिविधि रोकिँदैन भन्ने संकेतले स्थानीय स्थायित्वप्रति प्रश्न उठाएको छ। परिस्थिति सहज बनाउन सबै पक्षको संयमता र संवादको खाँचो अझ गहिरो हुँदै गएको देखिन्छ।