समाचार

नेपालका घटनामा भारतको पहिलो प्रतिक्रिया -दुःख, संवेदना र संयमको आग्रह

नेपालका घटनामा भारतको पहिलो प्रतिक्रिया -दुःख, संवेदना र संयमको आग्रह

 भारत सरकारको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयले नेपालमा हालै देखिएका घटनाक्रमबारे विज्ञप्ति जारी गर्दै धेरै युवाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा दिवंगतको परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना प्रकट गरिएको छ।

भारतले नेपाललाई आफ्नो घनिष्ठ मित्र र छिमेकीको रूपमा परिभाषित गर्दै सबै सरोकारवालालाई संयमता अपनाउन र शान्तिपूर्ण संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्दछौं।”

हाल काठमाडौंसहित नेपालका विभिन्न शहरहरूमा प्रशासनले कर्फ्यू लगाएको अवस्थालाई समेत भारतले उल्लेख गर्दै नेपालमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र नेपाली अधिकारीहरूले जारी गरेका निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ।

यसअघि नेपालमा भएका हिंसात्मक प्रदर्शनका क्रममा धेरै युवाको ज्यान गएको पुष्टि भइसकेको छ। घटनाप्रति अन्तर्राष्ट्रिय स्तरमा समेत चासो बढ्दै गएको छ, जसलाई भारतले छिमेकी र साझेदारको हैसियतले नजिकबाट नियालिरहेको जनाएको छ।

भारतको यो वक्तव्य नेपालका आन्तरिक घटनाप्रति संवेदना व्यक्त गर्नुका साथै द्विपक्षीय सम्बन्धमा आपसी भरोसा र सहकार्यलाई निरन्तरता दिने सन्देशका रूपमा पनि लिइएको छ।