धनगढीमा आकस्मिक निर्णय : जेनजी आन्दोलनबीच अनिश्चितकालीन निषेधाज्ञा लागू
धनगढीमा मंगलबार दिउँसो १२ बजेर १० मिनेटदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको विज्ञप्तिमा हाल भइरहेको जेनजी आन्दोलनलाई मध्यनजर गर्दै सुरक्षाका कारण देखाउँदै यस्तो निर्णय गरिएको उल्लेख छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सुरक्षाको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै धनगढीका केही महत्वपूर्ण स्थानलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रशासनले तत्कालीन स्थिति नियन्त्रणमा लिन र संभावित हिंसात्मक गतिविधि रोकथाम गर्न आपतकालीन कदम चाल्नुपर्ने देखिएको हो।
धनगढीलगायत आसपासका क्षेत्रमा पछिल्ला दिनमा जेनजी आन्दोलन तीव्र बन्दै गएको छ। काठमाडौंसहितका सहरहरूमा देखिएको हिंसात्मक झडप र त्यसपछि बढ्दै गएको असुरक्षा वातावरणले प्रशासनलाई सतर्क बनाएको बताइन्छ।
निषेधाज्ञा कति समयसम्म जारी रहने भन्ने स्पष्ट छैन तर स्थानीय प्रशासनले ‘अनिश्चितकालीन’ भन्दै सूचना जारी गरेको छ। यसले आन्दोलनमा संलग्न युवाहरू र सामान्य जनजीवनमा थप दबाब पर्ने देखिएको छ।
स्थानीयबासी र सरोकारवालाहरूले अब आन्दोलन र सुरक्षाबीच सन्तुलन कायम गर्दै शान्तिपूर्ण समाधान खोज्ने अपेक्षा व्यक्त गरेका छन्। सत्ता–विपक्ष दुवै पक्षका नेताहरूले जिम्मेवार व्यवहार देखाउने हो भने तनाव घट्ने सम्भावना अझै बाँकी छ भन्ने आशा गरिएको छ।