रक्तदानको अपिल गर्दै मन्त्रालय, आन्दोलनका सबै घाइतेलाई अस्पतालमा निःशुल्क उपचार

‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका नागरिकको उपचारबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आपत्कालीन तयारी बढाउँदै सबै सङ्घीय अस्पताललाई निःशुल्क सेवा दिन निर्देशन दिएको छ। मन्त्रालयका सचिव डा. विकास देवकोटाले भने आन्दोलनका कारण घाइते भएर अस्पतालमा भर्ना हुनेलाई आवश्यक औषधी, शल्यक्रिया र जीवनरक्षक उपचारसमेत विनामूल्य उपलब्ध गराइने बताए।
डा. देवकोटाका अनुसार सङ्घीय अस्पतालका चिकित्सकलाई जस्तोसुकै शल्यक्रिया भए पनि तुरुन्त निःशुल्क गर्न निर्देशन दिइएको छ। मन्त्रालयले जारी गरेको सूचनामा आपत्कालीन अवस्थामा आवश्यक पर्ने सबै औषधी पनि निःशुल्क उपलब्ध गराउन अस्पताल प्रशासनलाई भनिएको छ।
घाइतेहरूको बढ्दो संख्याले रक्तसञ्चारमा समस्या आउन सक्ने भन्दै मन्त्रालयले आम नागरिकलाई रक्तदानका लागि अपिल गरेको छ। साथै, घाइतेलाई शीघ्र अस्पताल पुर्याउन एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक स्थानमा सजिलै उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिइएको सचिव देवकोटाले बताए।
काठमाडौं र सुनसरीसहित देशभर प्रदर्शन हिंस्रक बन्दै गएपछि सयौँ घाइते भएका छन्। त्यसैबीच स्वास्थ्य मन्त्रालयको निर्णयले तत्काल उपचार पाउने आशा बलियो बनाएको देखिन्छ, तर यो व्यवस्था व्यवहारमा कत्तिको प्रभावकारी हुन्छ भन्ने प्रश्न अझै खुलेको छ।