समाचार

गोली सहित पक्राउ परेका व्यक्तिलाई बुद्ध भूमि संरक्षणको जिम्मा? कानूनमाथि प्रश्न!

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकल लामाको विवादास्पद पृष्ठभूमि

गोली सहित पक्राउ परेका व्यक्तिलाई बुद्ध भूमि संरक्षणको जिम्मा? कानूनमाथि प्रश्न!

नेपालको शान्ति भूमि लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि मात्र नभएर सम्पूर्ण मानव सभ्यताका लागि एक पवित्र स्थल हो। भगवान बुद्धको जन्मस्थल भएकोले लुम्बिनीले विश्वमा शान्ति, अहिंसा र करुणाको सन्देश प्रवाह गर्दछ। यसै कारण, लुम्बिनी क्षेत्रको व्यवस्थापन अत्यन्त संवेदनशील विषय हो। तथापि, लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्षको जिम्मेवारी पाएका डा. ल्यारकल लामाको नियुक्ति यो गरिमामय स्थलको मर्यादामाथि ठुलो चुनौती बनेको छ।

२०७२ साल मंसिर ३० गतेको दिन, काठमाडौं प्रहरीले सूचना पाई लुम्बिनी क्षेत्र विकास कोषका उपाध्यक्ष डा. ल्यारकल लामालाई पक्राउ गर्‍यो। पक्राउ पछि प्रहरीले उनको बैंक खाताहरुमा अनुसन्धान सुरु गर्यो र नेपाल इन्भेस्टमेन्ट बैंकको दरबारमार्ग शाखामा रहेको लामाको लकर खोल्दा त्यहाँबाट जीव हत्या गर्न प्रयोग हुने १४ थान गोलीसमेत बरामद गर्‍यो। एक शान्तिदूतको रुपमा बौद्ध भिक्षुको लकरबाट हिंसामा प्रयोग हुने गोली फेला पर्नु असाधारण मात्र होइन, कानूनी दृष्टिकोणले जघन्य अपराध पनि हो।

यस प्रकरणमा, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लामालाई २८ हजार रुपैयाँ जरिवाना तिराउँदै दोषी ठहर गर्‍यो। उनले धरौटीमा छुट पाउँदा, समाजका विभिन्न पक्षमा चर्को आलोचना उठ्यो। यो निर्णयको विरोधमा कानूनी विशेषज्ञहरुले लामालाई न्यायालयको पूर्वाग्रहपूर्ण निर्णयले छोडेको आरोप लगाएका छन्। यो अपराधमा साधारण नागरिकहरुका लागि कारावास सजाय तोकिएकोमा लामाले सानो जरिवाना तिरेर छुट पाउनु कानूनी प्रक्रियामा भेदभावको दृष्टान्त बनेको छ।

तर, यस विषयलाई अझै विवादास्पद बनाउने घटना भने पर्यटन मन्त्री सुदन किरातीले लामालाई लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्षको लागि सिफारिस गर्नु हो। मन्त्री किरातीको सिफारिसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको क्याबिनेटले अनुमोदन गर्‍यो। यस सिफारिससँगै कानूनी प्रावधान र नैतिक मर्यादा विपरीत, एक प्रमाणित अपराधीलाई भगवान बुद्धको जन्मस्थलको प्रमुख संरक्षक बनाइयो।

लुम्बिनीको शान्ति भूमिमा अपराधीलाई नेतृत्वमा राखिनुले मुलुकको कानूनी प्रणाली, धर्म र सांस्कृतिक आस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। नेपाली नागरिक र अन्तर्राष्ट्रिय समुदायले पनि यस निर्णयको निन्दा गर्दै शान्ति स्थलको मर्यादा भंग भएको र गलत सन्देश प्रवाहित भएको आशंका व्यक्त गरेका छन्।

ल्यारकल लामा