समाचार

प्रचण्डको पदमुक्तिपछि राष्ट्रपतिको कार्यविधि

प्रचण्डको पदमुक्तिपछि राष्ट्रपतिको कार्यविधि

 काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएपछि पदमुक्त भएका छन्।

एमालेको समर्थन फिर्ता भएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ मत आवश्यक भए पनि प्रचण्डलाई मात्र ६३ मत प्राप्त भएको थियो। १९४ मत विपक्षमा परेको थियो भने १ मत तटस्थ रहेको थियो। 

१० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक २६ पुसमा २६८ मत प्राप्त गरी विश्वासको मत जितेका थिए। दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत, तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा १५७ मत पाएका थिए। 

यस पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रचण्ड अल्पमतमा परेका छन्। उनलाई आफ्नै दल माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र समर्थन गरेका छन्। 

प्रधानमन्त्री पद रिक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान अघि कानुनविद्लाई छलफलमा बोलाएका छन्। संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रपति कार्यालयबाट बोलावट भएको तर नगएको बताएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) वा (३) अनुसार नयाँ सरकार गठनका लागि कानुनी परामर्श गरिरहेका छन्। 

प्रतिनिधि सभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित भएपछि राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ। कुन धारा प्रयोग गर्ने भन्ने स्पष्टता प्राप्त गर्नका लागि कानुनी विशेषज्ञहरूसँग परामर्श लिइरहेका छन्।