खतरनाक घटना: पहिरोले दुई बस त्रिशूलीमा खस्यो, ६५ यात्रु बेपत्ता

खतरनाक घटना: पहिरोले दुई बस त्रिशूलीमा खस्यो, ६५ यात्रु बेपत्ता

चितवन - नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा भिषण पहिरो खस्दा दुई बस त्रिशूली नदीमा बगाएको छ। इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार लेदो सहितको पहिरोका कारण बसहरूलाई बगाएर त्रिशूलीमा मिसाएको छ। 

नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खसेको थियो। दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको थियो। पहिरोका कारण सडक अवरुद्ध भएको छ र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताइन्। त्रिशूलीले बसहरूलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन्। उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ।

उद्धार कार्यका लागि नारायणगढबाट गोताखोर आउँदै गरेको जानकारी दिइएको छ। सो खण्ड अन्तर्गतको कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताइन्। 

'अहिले घटनास्थलमा उद्धार कार्य सुरु गर्न सक्ने अवस्था छैन। सडकको माथिबाट आएको लेदो सहितको पहिराले बसलाई त्रिशूलीमा मिसाएको हो। लेदो सहितको पहिरो भएकाले काम गर्न कठिन भइरहेको छ,' उनले भनिन्। 'बसका यात्रुहरूको अवस्था अज्ञात छ। उद्धार कार्यका लागि गोताखोर बोलाइएको छ। गोताखोरहरू पहिरोका कारण अड्किएका छन्। काली खोलामा ठुलो पहिरो खसेकाले गोताखोरहरू घटनास्थल पुग्न सकेका छैनन्। गोताखोर नभई उद्धार कार्य सुरु गर्न सकिन्न।'

काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन्।

संम्बधित खबर