भिडियो

राष्ट्रवादी चरित्रका कारण ओलीलाई नै जनताले बहुमत दिएका हुन्ः नेतृ कुन्ता शर्मा

राष्ट्रवादी चरित्रका कारण ओलीलाई नै जनताले बहुमत दिएका हुन्ः नेतृ कुन्ता शर्मा

काठमाडौं: वामपन्थी नेतृ कुन्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण मुलुकको शिर ठाडो भएको दावी गरेकी छिन्। उनले भनिन् कि नेपालका कुनै पनि राष्ट्रप्रमुखले अहिलेसम्म भारतसँग गर्ने कुरा गर्न नसकेकोमा प्रधानमन्त्री ओलीले मात्र शिर ठाडो पारेर देशको हितका कुरा गरेका छन्।

नेपाल आजसँग कुराकानी गर्दै ७९ वर्षीय नेतृ शर्माले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको नेपालको राजनीतिक नक्साले सबै राष्ट्रवादी नेपालीको शिर उँचो बनाएको बताइन्। भारतीय सेनालाई एकै चोटी 'भाग' भन्न नमिल्ने भन्दै उनले नक्सा अनुसारको नेपाली भूमि फिर्ता गराउन प्रक्रिया पूरा गर्नु पर्ने बताइन्।

उनले थपिन्, "नक्सा मात्रै पास गरेर समस्याको समाधान भयो त? नेपालले दाबी गरेको भूमि कुन जिल्लामा हो, कुन वडा हो, केही स्पष्ट छैन। चुच्चे नक्साको विवाद पहिले देखिकै हो। तर, अहिलेसम्म कसैले त्यसको बारेमा चासो राखेन। अब एकै पटक सेनालाई धपाएर हुँदैन। त्यसलाई वार्ता र छलफलको माध्यमबाट समाधान गर्नुपर्छ।"

शर्माले बताइन् कि भारत हाम्रो छिमेकी भएकाले सकेसम्म छलफलबाट समस्याको समाधान खोज्नु पर्छ। प्रधानमन्त्री ओलीको राष्ट्रवादी चिन्तनले आफूहरूलाई मोहित बनाएको उनको भनाइ छ।

राष्ट्रिय स्वाभिमानको प्रदर्शन प्रधानमन्त्री ओलीले गरिरहेको बताउँदै उनले यो आफूलाई ठिक लागेको बताइन्। शर्माले भनिन्, "अहिलेको झगडा व्यक्तिगत लाभका लागि नभई देश र जनताका लागि हुनुपर्छ। प्रधानमन्त्री ओलीले नाकाबन्दीको समयमा देखाएको राष्ट्रवादी चरित्रको कारण नै यस पटक वामपन्थी नेतृत्वमा बहुमत प्राप्त भएको हो।"

शर्माले संसद विघटन विरुद्ध सर्वोच्च अदालतको फैसलाप्रति आफ्नो असन्तुष्टि व्यक्त गरिन्। उनले भनिन्, "सुरुमा सेटिङ्ग भयो भनेर उहाँहरू आन्दोलनमा जानुभयो। जब संसद पुनःस्थापना भयो त्यसपछि सबै कुरा सही भयो। अहिले अदालतले गरेको फैसलालाई सेटिङ्ग भन्नु गलत हो।"

प्रधानमन्त्री ओलीले काम गर्ने वातावरण नै नपाएको र पार्टी भित्रैबाट असहयोग भएको उनको भनाइ छ। नेताहरूले व्यक्तिगत लाभ खोज्ने र आफ्ना मान्छेलाई जसरी पनि सत्तामा पुयाउने चिन्तनले समस्या सिर्जना गरेको उनको तर्क छ।


यो सामग्री बिहिबार, १९ चैत २०७७ गते प्रकाशित गरिएको थियो। हालको विकसित वर्तमान सन्दर्भमा, ठ्याक्कै उही सामग्री पुनः प्रकाशित गरिएको छ।

कुन्ता शर्मा