ओली सरकारका नौ मन्त्रि 'भर्जिन मन्त्री'!

ओली सरकारका नौ मन्त्रि 'भर्जिन मन्त्री'!

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ‌ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा ९ जना 'भर्जिन मन्त्री' अर्थात नयाँ मन्त्री बनेका छन् । उनीहरूले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन्। पुराना मन्त्रीहरूमा दोस्रो पटकदेखि १३ औं पटकसम्म दोहोरिने समेत छन्। 

मन्त्रिपरिषद्मा नयाँ र पुरानाको मिश्रण देखिएको छ। 

ओली मन्त्रिपरिषद्: ९ नयाँ, १२ पुराना मन्त्री

दुई उपप्रधानमन्त्री

ओली नेतृत्वको यो मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री बनेका छन्। कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्। सिंहलाई सहरी विकास र पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। सिंह र पौडेल विगतमा पनि पटक पटक मन्त्री भएका व्यक्ति हुन्।

दुई महिलामन्त्री

ओलीको यो मन्त्रिपरिषद्मा दुई जना महिलामन्त्री बनेका छन्। कांग्रेसबाट आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन्। एमालेबाट विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छन्। दुवै जना पहिलो पटक मन्त्री बनेका हुन्। राणा प्रतिनिधिसभामा समानुपातिकबाट सांसद हुँदै हाल कृषि समितिको सभापति बनेकी थिइन्। भट्टराई कास्की २ बाट निर्वाचित सांसद हुन्। राणासँग विगतमा सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ। भट्टराई त्रिविकी पूर्व उपप्राध्यापक हुन्।

कांग्रेसबाट ५ र एमालेबाट ४ नयाँ मन्त्री

यस पटक कांग्रेस र एमालेले मन्त्रिपरिषद्मा ९ जना नयाँ अनुहार पठाएका छन्। कांग्रेसबाट परराष्ट्रमन्त्री आरजु राणा, वनमन्त्री ऐनबहादुर शाही, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र कृषिमन्त्री रामनाथ अधिकारी पहिलो पटक मन्त्री बनेका हुन्।

उर्जामन्त्री दीपक खड्का र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी यसअघि राज्यमन्त्री बनेका थिए। राज्यमन्त्री बनिसकेकाले सरकारमा उनीहरू पहिलो पटक नभए पनि क्याबिनेट मन्त्रीको रुपमा पहिलो पटक छिरेका हुन्। कानुनमन्त्री अजय चौरसिया २०५८ सालमा स्थानीय विकास सहायक मन्त्री बनेका थिए। क्याबिनेट मन्त्रीको रुपमा चाहिँ उनी पनि पहिलो पटक छिरेका हुन्।

एमालेबाट रक्षामन्त्री मनवीर राई, शिक्षामन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला मन्त्री राजकुमार गुप्ता पहिलो पटक मन्त्री बनेका हुन्।

शरतसिंह भण्डारी: पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै, मन्त्री बन्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा लोसपाका सांसद शरतसिंह भण्डारी श्रममन्त्रीमा नियुक्त भएका छन्। योसँगै ६९ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १३ औं पटक मन्त्री बनेका हुन्।

विष्णु पौडेल आठौं पटक मन्त्री र पाँचौं पटक अर्थमन्त्री

एमालेका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सोमबारबाट आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन्। पाँचौं पटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने एमाले नेतामा पर्छन्।

संम्बधित खबर