अर्थ

कीर्तिपुरमा सम्पन्न भयो युएसएडको यात्रा

कीर्तिपुरमा सम्पन्न भयो युएसएडको यात्रा

काठमाडौँ। लुम्बिनी प्रदेशबाट सुरु भएको युएसएड यात्रा सोमबार काठमाडौँको कीर्तिपुरमा सम्पन्न भएको छ।

नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) को दुई साताअघि यात्रा सुरु गरेको थियो।

यस असार १९ गतेदेखि कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल, दाङको लमही, कोहलपुर, नेपालगञ्ज, काठमाडौँको भृकुटीमण्डप तथा ललितपुरको जावलाखेलमा सम्पन्न भएपछि आज कीर्तिपुरको पांगामा आयोजना गरिएको हो।

कीर्तिपुरको कार्यक्रममा राजनराज शिवाकोटी, रिमा विश्वकर्मा, माला वाइवा लगायतका कलाकारको प्रस्तुतिका साथै विभिन्न खेल जस्तै ‘स्पिन द ह्विल’, हाजिरीजवाफ लगायत मनोरञ्जनका कार्यक्रम आयोजना गरिएका थिए। खेलमा सहभागिता जनाउने अधिकांश युवाहरू तथा सांगीतिक कार्यक्रममा सबै उमेर समूहका दर्शकहरू सहभागी थिए।

युएसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन यात्रा सुरु गरिएको हो। युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका विभिन्न परियोजना सञ्चालन गरिरहेको छ। यस्तो यात्रा भने पहिलो पटक गरिएको हो।

संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झण्डै आठ दशकदेखि रहँदै आएको छ। युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ। अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पुर्‍यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए।

सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा एक खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ।