पर्यटन

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: महानिर्देशक बिरुद्द खनिए पोखराबासी

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: महानिर्देशक बिरुद्द खनिए पोखराबासी

राष्ट्रिय एकता अभियानका उपाध्यक्ष टिका कुमारी छिरिंगले प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डे  मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन्। उक्त पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण संचालनमा ढिलाई र निर्माणमा भएका भ्रष्टाचारका सम्बन्धमा गम्भीर चिन्ता व्यक्त गरिएको छ। टिका कुमारी छिरीङको नेतृत्वमा भएको प्रतिनिधिमण्डलको बैठकमा ध्रुवराज चालिसे, विष्णु प्रसाद तिवारी, चित्र कुमारी गुरुङ, इन्द्र गुरुङ, नारायण गिरी, र रामेश्वर अधिकारी उपस्थित थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा सञ्चालनमा नआउँदा पोखराबासी निकै आक्रोशित भएका छन्। विमानस्थलको निर्माणका क्रममा उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ठेकेदार कम्पनीहरूसँग मिलेर कमिशनको लागि प्रविधिक त्रुटिहरूलाई बेवास्ता गरेको आरोप पत्रमा लगाइएको छ।

संसदीय छानवीन उपसमितिले सार्वजनिक सुनुवाईका क्रममा प्रदीप अधिकारी कार्यक्रममा उठेर भाग्नुभएको घटनाले पोखराबासीलाई अपमानित गरेको र उहाँको असक्षमता प्रकट गरेको छ। विमानस्थल निर्माणका क्रममा भएका प्रविधिक त्रुटिहरू, सुरक्षा मापदण्डहरूको अवमूल्यन, र ठेकेदार कम्पनीहरूसँगको मिलीभगतले विमानस्थलको गुणस्तरमा कमी आएको उल्लेख छ।


ज्ञापन पत्रमा पोखराबासीको तर्फबाट निम्न मागहरू राखिएका छन्:

१. महानिर्देशक प्रदीप अधिकारीलाई तुरुन्त बर्खास्त गरियोस्।
२. निर्माणमा भएका सम्पूर्ण प्रविधिक त्रुटिहरूको जिम्मा अधिकारीले लिनु पर्नेछ।
३. छानवीन प्रक्रिया सम्पन्न नभएसम्म अधिकारीलाई पदमा बस्न नदिइयोस्।
४. एक स्वतन्त्र अनुसन्धान टोली गठन गरियोस्।
५. प्राधिकरणले स्पष्ट कार्य योजना तयार पारोस्।
६. विमानस्थलको प्रभावकारी संचालनका लागि आवश्यक स्रोत र प्रविधिको व्यवस्था गरियोस्।

पोखराबासीले ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न प्रधानमन्त्रीलाई जोडदार आग्रह गरेका छन्।



सम्माननीय प्रधानमन्त्रीज्यू  
मार्फत: प्रमुख जिल्ला अधिकारी  
जिल्ला प्रशासन कार्यालय, कास्की, पोखरा  

मिति: २०८१०४/०४गते 

विषय: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण संचालनमा ढिलाई र निर्माणमा भएका भ्रष्टाचारका सम्बन्धमा ज्ञापन पत्र  

आदरणीय प्रधानमन्त्रीज्यू,  

हामी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण संचालनमा ढिलाई र निर्माणमा भएका भ्रष्टाचारका कारण गम्भीर चिन्ता व्यक्त गर्दै यस ज्ञापन पत्र मार्फत हाम्रो माग राख्न चाहन्छौं। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण संचालनमा ल्याउन नसकिनु अत्यन्तै दुःखद र लज्जास्पद कुरा हो। यो घटनाले पोखरावासी र सम्पूर्ण नेपाली जनताको आकांक्षामा गम्भीर आघात पुर्याएको छ। नेपालजस्तो देशको लागि, अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी संचालनले पर्यटन, व्यापार र समग्र आर्थिक विकासमा ठूलो भूमिका खेल्छ। तर, यस्तो महत्वपूर्ण परियोजनाको कार्यान्वयनमा देखिएको असफलता र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध पुर्याएको छ।

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल निर्माणको क्रममा ठेकेदार कम्पनीहरूसँग मिली कमिशनको लागि प्रविधिक त्रुटिहरूलाई बेवास्ता गर्नु भएको तथ्यले उहाँकै असफलता र असक्षमता प्रकट गर्दछ। संसदीय छानवीन उप समितिले सार्वजनिक सुनवाईका क्रममा पनि उहाँ कार्यक्रमबाट उठेर भाग्नुभयो, जसले १२ जना माननीय सांसद ज्यूहरू लगायत सम्पूर्ण पोखरावासीलाई अपमान गरेको छ। यो घटना प्रष्ट संकेत हो कि उहाँले आफ्नो जिम्मेवारी पूरा गर्न असफल हुनु भएको छ र यसले उहाँको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ।

विमानस्थल निर्माणको क्रममा भएका प्रविधिक त्रुटिहरू, सुरक्षा मापदण्डहरूको अवमूल्यन, र ठेकेदार कम्पनीहरूसँगको मिलीभगतले विमानस्थलको गुणस्तरमा कमी आएको छ। यस्ता त्रुटिहरूले यात्रुहरूको सुरक्षा र विमानस्थलको प्रभावकारी संचालनमा अवरोध पुर्याउन सक्छ। यो अवस्थाले नेपाली नागरिक र अन्तर्राष्ट्रिय यात्रुहरूमा निराशा र असन्तोष उत्पन्न गरेको छ।

तसर्थ, हामी पोखरावासीको तर्फबाट निम्न माग गर्दछौं:  
१.⁠ ⁠पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण संचालनमा असफल भएकाले महानिर्देशक प्रदीप अधिकारीलाई तुरुन्त   बर्ख़ास्त गरियोस्। उहाँको नेतृत्वमा देखिएको असफलता र भ्रष्टाचारका कारण उहाँलाई अब उक्त पदमा राख्नु उपयुक्त छैन।  
२.⁠ ⁠विमानस्थल निर्माणमा भएका सम्पूर्ण प्रविधिक त्रुटिहरूको जिम्मा प्रदीप अधिकारीले लिनु पर्नेछ। उहाँले आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीहरूसँग मिली कमिशनको लागि काम गरेको तथ्यले उहाँको असक्षमता र भ्रष्टाचारलाई प्रकट गर्दछ।  
३.⁠ ⁠निर्माण प्रक्रियामा भएका भ्रष्टाचार र त्रुटिहरूको छानवीन सम्पूर्ण रुपमा सम्पन्न नभएसम्म महानिर्देशकलाई पदमा बस्न नदिइयोस्। छानवीन प्रक्रिया स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गरिनु पर्दछ, जसले भ्रष्टाचारमा संलग्न सबै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सकियोस्।  
४.⁠ ⁠विमानस्थलको पूर्ण संचालन र प्रविधिक त्रुटिहरूको समाधानका लागि एक स्वतन्त्र अनुसन्धान टोली गठन गरियोस्। यो टोलीमा विमानस्थल विशेषज्ञ, सुरक्षा विशेषज्ञ, र स्वतन्त्र अनुसन्धानकर्ताहरू समावेश गरिनु पर्नेछ, जसले निष्पक्ष र प्रमाणित नतिजा प्रस्तुत गर्न सकियोस्।  
५.⁠ ⁠विमानस्थलको आगामी सञ्चालनका लागि प्राधिकरणले स्पष्ट कार्य योजना तयार पारोस्, जसले विमानस्थलको प्रभावकारी संचालन र यात्रुहरूको सुरक्षामा ध्यान दिन सकियोस्।  
६.⁠ ⁠विमानस्थलको प्रभावकारी संचालनका लागि आवश्यक पर्ने स्रोत, साधन र प्रविधिको व्यवस्था गरियोस्, जसले विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार संचालनमा ल्याउन सकियोस्।  

हाम्रो ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लिइ सम्बोधन गरियोस् भन्ने आशा गर्दछौं। यस विषयमा तत्काल कदम चाल्न हामी पुन: जोडदार आग्रह गर्दछौं।

धन्यवाद।

भवदीय,

टिका कुमारी छिरिंग  
उपाध्यक्ष , कास्की 
राष्ट्रिय एकता अभियान