विदेश

राष्ट्रपति दौडबाट बाहिरिएपछि बाइडनको पहिलो सम्बोधन

राष्ट्रपति दौडबाट बाहिरिएपछि बाइडनको पहिलो सम्बोधन

अमेरिकी राष्ट्रपति जो बाइडनले टेलिभिजन सम्बोधनमा "नयाँ पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्ने" समय आएको बताएका छन्। उनले पुनः राष्ट्रपति पदका लागि प्रतिस्पर्धा नगर्ने आफ्नो निर्णयको व्याख्या गर्दै यस्तो टिप्पणी गरेका हुन्।

बाइडनले फितलो चुनावी अभियान र शारीरिक तन्दुरुस्तीको विषयमा पार्टीभित्र र बाहिरबाट व्यापक आलोचना भएपछि दोस्रो पटक राष्ट्रपति बन्ने दौडबाट पछि हट्ने निर्णय गरेका थिए। 

७६ वर्षका बाइडनले आफ्नो दल डेमोक्र्याटिक पार्टी र अमेरिकालाई एकताबद्ध गर्नका निम्ति आफूले उम्मेदवारी फिर्ता लिएर उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेको बताए। 

जुलाई २१ मा राष्ट्रपतिको दौडबाट पछि हटेपछिको उनको घोषणापछि ह्वाइटहाउसबाट उनले पहिलो पटक सार्वजनिक सम्बोधन गरेका हुन्।

यसैबीच एउटा चुनावी र्‍यालीमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले कमला ह्यारिसलाई "अतिवादी वामपन्थी पागल" भएको आरोप लगाएका छन्। अहिलेसम्मका मतसर्वेक्षणहरूले ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने सङ्केत गरेका छन्।

बाइडनले के भने?

बुधवार राति ओभल अफिसबाट ११ मिनेट बोलेका बाइडनले आफ्नो कार्यालयलाई सम्मान गर्ने तर देशलाई बढी प्रेम गर्ने बताएका छन्। 

आधा शताब्दीभन्दा बढी समयदेखि अमेरिकाका विभिन्न सार्वजनिक पदमा रहेका बाइडनले अगाडि बढ्ने उत्तम उपायका रूपमा नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको बताए। उनले भने, "यो नै हाम्रो राष्ट्रलाई एकताबद्ध गर्ने उपयुक्त तरिका हो।"

बाइडनले आगामी वर्षको जनवरीमा आफ्नो कार्यकाल सकिनुअघि नै "अमेरिकी जनताका लागि गर्नुपर्ने काम" सम्पन्न गर्ने बताए। उनले ह्यारिसलाई "अनुभवी, कडा र सक्षम" मित्र भने।

ट्रम्पको निरन्तर प्रहार

बाइडनको सम्बोधनभन्दा केही घण्टाअघि नोर्थ क्यारोलिनाको शार्लोटमा आयोजित चुनावी सभामा ट्रम्पले बाइडनलाई अमेरिकी इतिहासकै सबैभन्दा हानिकारक राष्ट्रपति भने। उनले उपराष्ट्रपति कमला ह्यारिसलाई "अतिवादी वामपन्थी पागल" को सङ्ज्ञा दिए।

ह्यारिसले के भनिन्?

कमला ह्यारिसले ट्रम्पका टिप्पणीमाथि तीव्र प्रहार गरिरहेकी छन्। उनले इन्डियानापोलिसमा बोल्दै आफूलाई जिताउन मतदाताहरूलाई आग्रह गरिन्। उनले भने, "हामीले हाम्रो राष्ट्रका लागि दुई फरक दृष्टिकोणमध्ये एक छान्नुपर्ने छ। एउटा भविष्यप्रति केन्द्रित छ, अर्को विगतप्रति।"

यदि ह्यारिसले चुनाव जितिन् भने उनी प्रथम अश्वेत, दक्षिण एशियाली अमेरिकन र महिला राष्ट्रपति हुने छिन्। यद्यपि 'ब्ल्याक लाइभ्स म्याटर' अधिकार समूहले डेमोक्र्याटहरूले "अश्वेत मतदाताहरूलाई भ्रमपूर्ण प्रभावमा पार्न खोजिरहेको" आरोप लगाएको छ।