समाचार

कामचलाउ सरकार भएपछि परराष्ट्रमन्त्रीले बजाए बीआरआईको डमरु

कामचलाउ सरकार भएपछि परराष्ट्रमन्त्रीले बजाए बीआरआईको डमरु

काठमाडौँ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुनेगरी अघि बढाउने व्यवस्था पनि समझदारी पत्रमा उल्लेख गरिएको बताए।

बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो परियोजनामा अनुदान र ऋण दुवै हुनेगरी योजनाहरु अघि बढाउने व्यवस्था गरिएको बताए। दुवै देशको हितमा हुनेगरी बीआरआई परियोजना अघि बढाउने विषयमा नेपाल–चीनबीच समझदारी भईसकेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो।

उनले भने, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा २०१७ मा समझदारी पत्रमा हस्ताक्षर गर्यौं। त्यसपछि त्यसको व्याख्यात्मक रूप लगातार छलफल हुँदै आयो। र त्यसको मस्यौदा तयार भयो। त्यो मस्यौदा तयार भईसकेपछि लगभग अन्तिम स्थितिमा पुगेको अवस्था हो। र त्यसलाई हस्ताक्षर गर्ने हाम्रो नीति छ।’

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले बीआरआई परियोजनाको इम्प्लिमेन्टेशन प्लानलाई स्वीकार गरेर अघि बढ्ने पनि बताए।

Narayan Kaji Shrestha BRI