समाचार

योगेश भट्टराई प्रमुख वक्ता: चिनियाँ राष्ट्रपति सि जिनपिंगको पुतला दहन गर्दै नाराबाजी

पोखरा विमानस्थलको भ्रष्टाचार छानबिनको माग: राजधानीमा सार्वजनिक बहस

योगेश भट्टराई प्रमुख वक्ता: चिनियाँ राष्ट्रपति सि जिनपिंगको पुतला दहन गर्दै नाराबाजी

काठमाडौँ, असार १६ – राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा काठमाडौँमा सार्वजनिक बहसको आयोजना गरेको छ। बहसमा पोखरा विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउने, निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्ने, र बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) ऋणलाई अनुदानमा परिणत गर्ने तीन प्रमुख निष्कर्षहरूमा सहमति भएको छ।

कार्यक्रमको अध्यक्षता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले गरे। प्रमुख वक्ताका रूपमा नेकपा एमालेका नेता माननीय योगेश भट्टराईले बीआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने आवश्यकता औंल्याए। पूर्व मन्त्री ओमप्रकाश यादव गुलाजारी, संविधान सभा सदस्य एवं अभियानका वरिष्ठ नेता वीपी यादव, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, अभियंता संतोष देउजा लगायतले पनि आ-आफ्ना विचार प्रस्तुत गरे।

कार्यक्रमको स्वागत मन्तव्य अभियानका केंद्रीय सदस्य चन्द्र यदुवंशीले दिए भने कार्यक्रम संचालन अभियानका युवा नेता दिवस पटेलले गरे।

कार्यक्रम पश्चात् सहभागीहरूले “तिब्बतीकरण रोक, चिनियाँ विस्तारवाद मुर्दावाद, ऋण जाल चाहिँदैन, देश बेच्न पाइँदैन” जस्ता नाराहरु लगाउँदै चिनियाँ राष्ट्रपति सि जिनपिंगको पुतला दहन गरे। यस घटनाले चीनप्रति असन्तोष र पोखरा विमानस्थलको निर्माण प्रक्रियामा देखिएका विभिन्न विवादित मुद्दाहरूप्रति ध्यान आकर्षित गरेको छ।

यो सार्वजनिक बहसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य र नेपालको कूटनीतिक र आर्थिक नीतिहरूमा गम्भीर बहस सुरु गराएको छ। अभियानका नेताहरूले सरकारले यथाशीघ्र यी निष्कर्षहरूलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन्।