समाचार

केन्द्रीय समितिको बैठक लाईव गर्न यसकारण डराए रबि र मन्त्रीहरू !

केन्द्रीय समितिको बैठक लाईव गर्न यसकारण डराए रबि र मन्त्रीहरू !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री मुकुल ढकाललाई एक हप्ताको लागि निलम्बन गरेको छ। उनलाई अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरेको आरोपमा अनुशासन उल्लंघन गरेको भन्दै रास्वपा अनुशासन आयोगले सिफारिस गरेको थियो, जुन केन्द्रीय समितिले पारित गरेको छ। 

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झा लगायतले ढकाललाई कारबाही गर्न एकमत भएपछि उनलाई निलम्बन गरिएको हो। प्रमुख सचेतक सन्तोष परियारले बताए अनुसार ढकाललाई एक हप्ताका लागि महामन्त्री पदबाट निलम्बन गरिएको छ र यसपछि के गर्ने भन्ने विषयमा अनुशासन आयोगले प्रतिवेदनसहित सिफारिस गर्ने आधारमा केन्द्रीय समितिले थप निर्णय लिनेछ।

महामन्त्री ढकालले पार्टीको केन्द्रीय समितिको बैठकमा अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरेको आरोप छ। अनुशासन आयोगले १ हप्ताका लागि निलम्बनको प्रस्ताव सिफारिस गरेको थियो र केन्द्रीय समितिले यसलाई पारित गरेको छ। ढकालको जिम्मेवारी सहप्रवक्ता कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनीष झालाई दिने निर्णय गरिएको छ।

रास्वपाको बैठकमा महामन्त्री ढकालले आफ्नो 'समीक्षा यात्रा प्रतिवेदन'को विषयमा हुने छलफललाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग गरेका थिए। उक्त मागलाई सभापति लामिछानेले केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्दा अधिकांश केन्द्रीय सदस्य विपक्षमा देखिए। ढकालले मुखमा मास्क लगाई त्यसमाथि कालो टेपको पट्टी लगाएर विरोध जनाए। 

बैठकमा उठेका प्रश्नको जवाफ ढकालले दिनुपर्ने दबाब थियो। उनले प्रत्यक्ष प्रसारण गरिएको बैठकमा मात्रै बोल्ने कुरा राखिसकेको अवस्थामा केन्द्रीय सदस्यहरूले जवाफ दिन दबाब दिएको आरोप छ। उनले बताए अनुसार, 'मुखमा टेप टाँसिसकेको राजनीतिक प्राणीले बोल् भनेर सबै जनाले ह्यारेस गरे,' उनले भने। 

ढकालले आरोप लगाउँदै भने, 'रवि लामिछानेको होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्दा निकालिएँ। मन्त्रीहरूले आफ्नो अक्षमताको भारी महामन्त्रीलाई बोकाउन खोजिरहेका छन्।'

रास्वपाका नेताहरूले महामन्त्री ढकालमाथि समीक्षा यात्राको प्रतिवेदन पार्टीमा छलफल हुनु पहिल्यै सञ्चारमाध्यममा बाँडेको, कार्यक्षमता, व्यवहार, पार्टी विधान एवं पद्धतिअनुसार नचलेको, महोत्तरीको जलेश्वरमा बसेको बैठकमा पनि पद्धति मिचेको र सचिवालय गठनमा विधि नमानेको आरोप लगाएका छन्। 

मिलन लिम्बूलाई इलाम २ को उपनिर्वाचनमा पराजित गर्न भूमिका खेलेको आरोप पनि ढकालमाथि लगाइएको छ।

Rabi Lamichhane Mukul Dhakal