यौन-शिक्षा

किन दुख्छ स्तन ? जान्नुहोस् कारण यस्ता छन्

किन दुख्छ स्तन ? जान्नुहोस् कारण यस्ता छन्

मास्टाल्जिया (स्तन दुख्ने समस्या) चिकित्सा विज्ञानअनुसार रजस्वला उमेरदेखि रजनोवृत्तिसम्मका महिलामा देखिन सक्ने समस्या हो। विशेषगरी कम उमेरका महिलामा यो समस्या बढी देखिन्छ। करिब ७० प्रतिशत महिलाले जीवनको कुनै न कुनै समयमा स्तनमा पीडा महसुस गर्छन्, जसमा १५ प्रतिशतलाई उपचार आवश्यक पर्छ।

यो समस्या स्तनको ठाउँ र अवस्थाअनुसार फरक हुनसक्छ। दुवै स्तन, एउटा स्तन वा स्तनमुनि दुख्नसक्छ। स्तन कडा, पोलेको वा असह्य दुखाइ महसुस हुन सक्छ। यसले महिलामा चिन्ता उत्पन्न गर्न सक्छ, तर हर्मोन प्रणालीमा आउने परिवर्तनको कारणले यो सामान्य हो। रजस्वला, गर्भावस्था, स्तनपान वा रजनोवृत्तिमा हर्मोनमा उतारचढाव आउँदा स्तन दुख्ने समस्या बढी हुन्छ।

स्तन दुखाइको कारण स्तनको साइज पनि हुनसक्छ। केही महिलामा स्तन दुख्ने समस्या अरुभन्दा बढी देखिन्छ। स्तनमा सिस्ट बन्नु पनि एक कारण हो। सिस्ट भनेको स्तनमा पानी भरिएका थैली हुन्, जुन नरम वा कडा हुनसक्छन्। यी सिस्टले पीडा गर्न सक्छन् वा नगर्न सक्छन्। रजस्वलाको समयमा यी सिस्ट ठूला हुन्छन्, र रजनोवृत्तिमा पुग्दा आफैँ हराउँछन्।

औषधिको असरले पनि स्तन दुख्न सक्छ। विशेषगरी प्रजनन समस्यामा प्रयोग हुने औषधि, गर्भ निरोधक चक्की, रजनोवृत्तिपछि प्रयोग हुने एस्ट्रोजिन र प्रोजेस्टेरोन औषधि, डिप्रेसनका औषधि, र केही पिसाब लागाउने औषधिले स्तनमा पीडा गराउन सक्छ। साथै, स्तनको शल्यक्रियाले पनि चोटपटकको कारण स्तन दुख्न सक्छ।

स्तन दुख्दा अपनाउन सकिने उपायहरू: – मिलेको ब्रा लगाउने।
– केफिन र सोडियमको मात्रा घटाउने (चिया, कफी, चकलेट, सोडा र नुनको सेवन कम गर्ने)।
– कम चिल्लो भएका खानेकुरा, फलफूल, तरकारी, र अँकुरित खाद्यपदार्थ बढी खाने।
– शरीरको तौल सन्तुलनमा राख्ने।
– भिटामिन बी६, बी१, र ई को उचित मात्रा सुनिश्चित गर्ने।
– तनाव र बेचैनी कम गर्ने।
– नियमित व्यायाम गर्ने।

नोट: घरेलु उपायले काम नगरेमा र समस्या बढ्दै गएको भए चिकित्सकको परामर्श लिनु महत्त्वपूर्ण छ।