विदेश

मोदीको युक्रेन यात्रा: जेलेन्स्कीसँगको भेटमा के भयो यस्तो?

मोदीको युक्रेन यात्रा: जेलेन्स्कीसँगको भेटमा के भयो यस्तो?

काठमाडौँ । युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन्। कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा गर्दै कीभ पुगेका थिए। यस ऐतिहासिक भ्रमणका क्रममा मोदीले रुससँग जारी युद्धको बारेमा चर्चा गरेका छन्।

१९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्। रुस-युक्रेन युद्ध सुरु भएपछि विश्वका कैयौं ठूला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन्।

मोदीले कीभको नेशनल म्युजियम अफ हिस्ट्री अफ युक्रेनमा रहेको बालबालिकाको शहादत सम्बन्धी प्रदर्शनी अवलोकन गरेका थिए। यस अवसरमा राष्ट्रपति जेलेन्स्की पनि उपस्थित थिए। मोदीले बालबालिकाको निधनले परिवारलाई पारेको प्रभाव र शोकलाई सम्झिदै आफ्नो गहिरो सहानुभूति प्रकट गरेका छन्।

मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ। मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिँदै महत्वपूर्ण भ्रमण भनेको छ।

यसअघि, मोदीले कीभमा रहेको महात्मा गान्धीको प्रतिमामा माल्यार्पण गरेका थिए। उनले गान्धीका आदर्श विश्वव्यापी रहेको र ती आदर्शले लाखौं मानिसलाई प्रेरणा दिएको उल्लेख गरेका छन्।

मोदीको यो भ्रमण रुस-युक्रेन द्वन्द्वको बीचमा भइरहेको छ। साथै, यो भ्रमण भारतको कूटनीतिक चतुराइको रूपमा पनि हेरिएको छ, जहाँ भारतले रुससँगको सम्बन्धलाई कायम राख्दै युद्धको शान्तिपूर्ण समाधानको लागि समर्थन जनाएको छ।