समाचार

मुकुलले रविलाई दिए दनक, यस्तो छ निस्कासन पछिको प्रतिक्रिया

मुकुलले रविलाई दिए दनक, यस्तो छ निस्कासन पछिको प्रतिक्रिया

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेपछि ढकालले पार्टी सभापति रवि लामिछानेलाई नै पार्टी सदस्यता त्याग्नुपर्ने माग गरेका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै ढकालले भनेका छन्, "रवि लामिछाने क्लबबाट निष्कासित व्यक्ति हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई निष्कासन गर्ने अधिकार राख्दैन। जब न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरिसकेपछि, रवि लामिछानेले नैतिकताको आधारमा पार्टीको साधारण सदस्यबाट राजीनामा दिनु पर्छ।"

लामिछानेको नैतिकता माथि गम्भीर प्रश्न उठाउँदै ढकालले थप भनेका छन्, "म नैतिक रूपले पतित व्यक्तिबाट नैतिकताको अपेक्षा गर्न सक्दिनँ, तर समयले उनको पतनलाई अवश्य पुष्टि गर्नेछ।"

सहकारी ठगी प्रकरणमा लामिछानेले जनतामा भ्रम फैलाएको आरोप लगाउँदै ढकालले भनेका छन्, "सहकारी प्रकरणमा लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषण गरिरहेका छन्। उनी आफूविरुद्ध आएका प्रमाणलाई किर्ते बताउँदै जनतालाई भ्रमित पारेर राजनीतिमा सक्रिय छन्। न्याय सम्पादन प्रक्रियामा अवरोध पुर्याउने दुस्साहस समेत गरिरहेका छन्। सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्छ।"

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई अनुशासन उल्लंघन गरेको आरोपमा पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। अनुशासन आयोगको सिफारिसमा उनलाई साधारण सदस्यबाट पनि हटाइएको जानकारी पार्टीले दिएको छ।