जनतासमक्ष जाने प्रचण्डलाई अहिराजको चुनौती: पहिले यी ८ प्रश्नको उत्तर दिनुस्

जनतासमक्ष जाने प्रचण्डलाई अहिराजको चुनौती: पहिले यी ८ प्रश्नको उत्तर दिनुस्

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दश वर्ष लामो सशस्त्र विद्रोह र त्यसपछि सरकारमा बसेको समयमा गरेका कामको विवरण सार्वजनिक गर्न माग गर्दै पूर्व प्रदेश प्रमुख राजेश अहिराजले आठ प्रश्न सोधेका छन्। साथै, उनले संविधान संशोधनका लागि १३ बुँदामा धारणा समेत राखेका छन्। उनले जनतासमक्ष जाने बेलामा सबै कामको हिसाब सार्वजनिक गर्नुपर्ने सन्देश दिएका छन्।

प्रचण्डप्रति तीव्र सवालहरू:

अहिराजले माओवादीलाई दुई पटक उपराष्ट्रपति, पाँच पटक प्रधानमन्त्री, नौ पटक उपप्रधानमन्त्री, ११० पटक मन्त्री, ५७५ पटक सांसद र अन्य अनगिन्ती राजनीतिक पदमा सेवा गर्ने मौका मिलिसकेको तथ्यलाई औंल्याउँदै पनि अझै जनतासमक्ष विश्वसनीयता कायम गर्न नसकेको आरोप लगाएका छन्।

माओवादीले १७,००० भन्दा बढी निर्दोष व्यक्तिको हत्या गरेको ऐतिहासिक सन्दर्भलाई पनि स्मरण गराएका छन्। अहिराजले सशस्त्र युद्धको आवश्यकता र औचित्य पुष्टिगर्न तथा लुटिएको सम्पति र विदेशमा राखिएको धनको हिसाब जनतासमक्ष ल्याउन माग गरेका छन्।

उनले प्रचण्डलाई प्रश्न राख्न प्रत्यक्ष भेट्ने अवसर नपाएकाले फेसबुकमार्फत आफ्नो माग राखेका छन्। प्रचण्डले गाउँ जाने घोषणापछि जनतासमक्ष जानुअघि यी प्रश्नहरूको उत्तर दिनुपर्ने अहिराजको धारणा छ।

अहिराजले प्रचण्डसामू राखेका मागहरू:

  1. कुनकुन बिदेशीसँग कुन कुन हतियार र कति पैसा मागेर आफ्नै देशको नागरिक नरसंहारको अभियान थाल्नु भयो? स्पष्ट पार्नुस्।
  2. तपाइको अगुवाइमा लुटिएको धन, हतियार र सम्पत्ति कहाँ छ? कुन कुन बैंकमा कति पैसा छ? सार्वजनिक गर्नुस्।
  3. परिवारलाई दिनुभएको राजनीतिक नियुक्तिको सूची बनाउने र फिर्ता बोलाउने।
  4. कुन कुन विदेशीलाई कस्तो पत्र, सम्झौता र बाचा गर्नु भएको छ? सरकारमा हुँदा गरिएको पत्राचार समेत।
  5. आफ्नो र परिवारको सम्पत्ति (पैत्रिकबाहेक) राष्ट्रियकरण गर्नुस्।
  6. माओवादी आन्दोलनको आडमा अपराध गर्ने, जनतासँग हिंसा गर्ने, धनमाल लुट्ने नेता/कार्यकर्ताको नाम र कामहरू सार्वजनिक गर्नुस्।
  7. अब उप्रान्त कुनै सरकारी पदमा नजाने र जनताको अहितमा केही नगर्ने।
  8. बिदेशीको लहलहैमा लागेर देश र जनता विरुद्ध गरेका सम्पूर्ण दुष्कर्मबारे जनतालाई बताउँदै माफी माग्ने।

अहिराजले जनतासमक्ष जाने प्रचण्डको प्रयासलाई चुनौती दिँदै यी सबै प्रश्नहरूको उत्तर दिन आग्रह गरेका छन्। "तपाइको आगामी दिन शुभ रहोस् र देशको पक्षमा रहोस्," अहिराजले भनेका छन्।

संम्बधित खबर