उग्र कम्युनिस्टको उदयमा राजदरबारको ठूलो हात: सच्चाई के हो?
राजा ज्ञानेन्द्र र माओवादी: गोप्य सम्झौताका रहस्य
सरोज मिश्र
आज म मेरो पुस्ताले देखेका, भोगेका र सुनेका तर इतिहासका पानामा लगभग बिलुप्त भएका केही घटनाहरूको चर्चा गर्दैछु। मलाई राम्ररी थाहा छ कि मेरा यी हरफ कतिपयलाई असह्य र अपाच्य लाग्न सक्छन्। तर, प्रत्यक्षदर्शीलाई प्रमाणको आवश्यकता हुँदैन र गम्भीर विश्लेषणको पनि जरुरत पर्दैन।
२०१७ सालमा राजा महेन्द्रको कदमपछि मुलुकमा प्रजातन्त्रवादीहरूको अवस्था बिजोग थियो। ७५ प्रतिशत निर्वासनमा थिए भने २५ प्रतिशत भूमिगत र कैदी जीवन बिताइरहेका थिए। मुलुकमा ‘हावापानी, माटो सुहाउँदो राष्ट्रवादी’ व्यवस्था कायम थियो। विद्यालयहरूमा ‘संसदीय व्यवस्था असफल हुनुका कारणहरू’ रटाइन्थ्यो। झिनो स्वरमा पनि राजा महेन्द्रको कदमको विरोध गर्नेहरू ‘अराष्ट्रिय तत्व’को सूचीमा दर्ज हुन्थे। सीमापारिबाट नेपाल प्रवेश गर्ने व्यक्तिको झोलाबाट बी.पी. कोइरालाको फोटो भेटिँदा राजद्रोहको आरोप लाग्थ्यो र २ देखि ३ वर्षको काराबास सजाय हुन्थ्यो।
यस्तो कठोर समयमा काठमाडौं र अन्य सहरी क्षेत्रमा अकल्पनीय दृश्यहरू देखापरे। ४–५ देखि १५–१६ वर्षका बालबालिकाहरूको छातिमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङको टाउको अंकित ब्याच देखापर्न थाल्यो। त्यो ब्याच नपाएका बालबालिकाहरू खिन्न हुन्थे र ५–१० पैसा तिरेर भए पनि छातिमा लगाउँथे। बी.पी. का अनुयायीहरू ‘अराष्ट्रिय तत्व’ मानिन्थे तर माओको ब्याच खुलमखुल्ला वितरण भइरहेको थियो। पुष्पलाल र मनमोहन पनि त्यही श्रेणीमा राखिएका थिए।
तरुण पत्रिकाको एक प्रति भेटिएमा त्यस व्यक्तिको जीवन अकल्पनीय बन्न पुग्थ्यो। तर, माओत्सेतुङको प्रचार साहित्य (रेडबुक) अत्यन्तै सस्तो मूल्यमा वा सित्तैमा खुला रूपमा उपलब्ध थियो। ‘चीन सचित्र’ नामको रंगीन चिनियाँ प्रचार सामग्री त सहर बजारको प्रत्येक घरमा देखिन्थ्यो। के यी सामग्री गुप्त रूपमा प्रचारप्रसार भएका थिए वा तत्कालीन अञ्चलाधीश वा प्रशासकको दृष्टिबाट ओझेलमा थिए? माओको ब्याच छताछुल्ल बाँडिएपछि सूचना विभागले राजा महेन्द्र र रानी रत्नको तस्बिर अंकित ब्याच पनि बाँडेको थियो।
नेपालका अधिकांश सफल कम्युनिस्ट नेतृत्व (सबै होइन) र राजाबीच जात फरक छ। राजा निरंकुश एकतन्त्रात्मक व्यवस्था चाहन्थे भने कम्युनिस्टहरू आफ्नो पार्टीको सर्वोच्चतासहितको शासन व्यवस्था चाहन्थे। उनीहरू बहुदलसम्म मान्छन्, तर बहुलवाद मान्दैनन्। एकथरी परिवार वा व्यक्ति केन्द्रित व्यवस्था चाहन्छ भने अर्को सर्वहाराका नाममा आफ्नो समूहको एकाधिकार चाहन्छ। यसर्थ, यी दुईको थर फरक भए पनि गोत्र एउटै हो। तर, सगोत्रीय साइनो हुँदैन, विवाह नभइ वंश बढ्दैन।
अहिलेको परिप्रेक्ष्यमा, २०६४ सालमा संविधानसभाको निर्वाचनअघि माओवादी नेता बाबुराम भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई राजा ज्ञानेन्द्रलाई सन्देश दिन आग्रह गरेका थिए। बाबुरामले राजालाई उचित ठाउँ दिएर कायम राख्न आफूहरू तयार रहेको तर शासन सत्ता माओवादीलाई सुम्पिनुपर्ने भनेका थिए। यसबाट माओवादी नेतृत्वलाई गणतन्त्र वा आमूल परिवर्तन चाहिएको थिएन, फगत निरंकुश सत्ता चाहिएको थियो।
समग्रमा, नेपालको राजदरबार र कम्युनिस्टहरूबीच गजबको सम्बन्ध रहेको देखिन्छ। २०१७ सालपछि कम्युनिस्टहरूले दरबारबाट प्रश्रय पाएका थिए। दरबारको नियत लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउने थियो। २०४६ सालसम्म आइपुग्दा तुलनात्मक रूपमा उग्र मानिने कम्युनिस्टको बोलबाला बढ्नुमा दरबारको ठूलो योगदान देखिन्छ। लोकतान्त्रिक कम्युनिस्ट दरबारलाई मन परेन, तर उग्र कम्युनिस्टले आश्रय पाएको देखिन्छ। माओवादीसँगको दरबारको सम्बन्ध पनि लोकतान्त्रिक शक्तिविरुद्धको एकबद्धताबाट प्रेरित थियो।
अन्त्यमा, नेपालका कम्युनिस्ट र राजा दुवै लोकतन्त्रविरोधी र तानाशाही प्रवृत्तिको छन्। तसर्थ, यी दुईबीच सगोत्रीय साइनो छ, तर अफसोच, सगोत्रबीच विवाह हुँदैन र विवाह नभइ वंश बढ्दैन। (यो लेख राजधानी दैनिकबाट लिइएको हो।)