इजरायली आक्रमणमा हुथी सैन्य प्रमुखको मृत्यु, क्षेत्रीय तनाव पुनः तीव्र!

यमनस्थित इरान समर्थित हुथी विद्रोही समूहले आफ्नो सैन्य प्रमुख मेजर जनरल मोहम्मद अल–घमारी इजरायली हवाई आक्रमणमा मारिएको पुष्टि गरेको छ। समूहले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उनलाई “इजरायली शत्रुविरुद्धको सम्मानजनक लडाइँमा शहीद” भएको घोषणा गर्दै इजरायलमाथि कठोर प्रतिशोध लिने चेतावनी दिएको हो।
घमारीको मृत्युको समय र स्थान भने समूहले स्पष्ट गरेको छैन। वक्तव्यअनुसार आक्रमणमा उनका केही सहयोगी लडाकू र १३ वर्षीय छोरा पनि मारिएका छन्। घटनाको पुष्टि यमनको उत्तरी सानामा कार्यरत समूहका स्रोतहरूले गरेका छन्।
इजरायली सेनाले गत सेप्टेम्बरको अन्त्यतिर यमनमा ठूलो हवाई आक्रमण गरेको स्वीकृति दिएको थियो, जसमा हुथीको सैन्य मुख्यालयसमेत लक्ष्यमा परेको बताइएको थियो। इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक्स (पूर्व ट्विटर) मार्फत अगस्टको अन्त्यमा भएको आक्रमणमा हुथी प्रधानमन्त्री र उनको क्याबिनेटका आधाभन्दा बढी सदस्य मारिएको उल्लेख गर्दै घाइते घमारीको पछि मृत्यु भएको हुनसक्ने संकेत गरेका थिए।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि घमारीको मृत्युलाई “हामीलाई हानि पुर्याउने आतंकवादी कमान्डरहरूको अन्त्यको श्रृंखलामा अर्को सफलता” भनेर टिप्पणी गरेका छन्।
हुथीहरू यमनमा सक्रिय इरान समर्थित सशस्त्र समूह हुन्, जसले पछिल्ला दुई वर्षको गाजा युद्धमा इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध इरानी नेतृत्वको तथाकथित “प्रतिरोधको धुरी” को हिस्सा बनेर लड्दै आएका छन्। उनीहरूले रेड सी क्षेत्र हुँदै इजरायली स्वामित्व वा सम्बन्धित भनिएका व्यापारीक जहाजहरूमा बारम्बार ड्रोन र मिसाइल आक्रमण गरेका थिए।
समूहले आफ्नो पछिल्लो विज्ञप्तिमा गाजा युद्धका क्रममा १,८३५ ड्रोन र मिसाइल तैनाथ गर्दै ७५८ सैन्य अभियान सञ्चालन गरेको दाबी गरेको छ। वक्तव्यमा भनिएको छ, “दुश्मनसँगको द्वन्द्व समाप्त भएको छैन। यहूदी र इजरायली शासनले गरेका अपराधको भारी मूल्य चुकाउनुपर्नेछ।”
घमारीको मृत्यु दुई वर्ष लामो गाजा युद्धमा अस्थायी युद्धविराम लागू भएको केही दिनपछि आएको हो, जसले मध्यपूर्वमा नयाँ तनावको संकेत दिएको छ। विश्लेषकहरूका अनुसार, यो घटनाले इजरायल–इरान प्रतिरोध धुरीबीचको प्रत्यक्ष द्वन्द्वलाई अझ गहिरो बनाउने सम्भावना बढाएको छ।