भगवान विश्वकर्माको पूजा कि श्रमिक सम्मान? राष्ट्रिय एकता अभियानले के सन्देश दियो?
काठमाडौं, राष्ट्रिय एकता अभियानको केन्द्रीय कार्यालयमा विश्वकर्मा पूजाको अवसरमा श्रमिकहरूको सम्मान, हिन्दू संस्कृतिमा श्रमिकको महत्त्व, र उनीहरूको योगदानलाई उजागर गर्ने उद्देश्यले एक विशेष छलफल कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा हिन्दू संस्कृतिमा श्रमिकको स्थान र विश्वकर्मा पूजासँग जोडिएको गहिरो सांस्कृतिक महत्वलाई प्रस्ट्याउँदै विभिन्न विश्लेषण प्रस्तुत गरियो। कार्यक्रमको प्रमुख वक्ता एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीले हिन्दू संस्कृतिमा श्रमिकको उच्च सम्मान र विश्वकर्मा पूजाको सांस्कृतिक महत्त्वबारे विशेष जोड दिनुभयो।
सुवेदीले आफ्नो मन्तव्यमा भन्नुभयो, “हिन्दू संस्कृतिमा श्रमिकहरूको महत्त्वलाई विशेष स्थान दिइएको छ। भगवान विश्वकर्मा श्रमिकका प्रतीकका रूपमा स्थापित हुनु र उनीहरूकै सम्मानस्वरूप प्रत्येक वर्ष विश्वकर्मा पूजा मनाइनु हाम्रो धार्मिक, सांस्कृतिक परम्पराको उदाहरण हो। भगवान विश्वकर्माको पूजा श्रमिकहरूको योगदानप्रति श्रद्धा अर्पण गर्ने एउटा अद्वितीय परम्परा हो। यसले हाम्रो संस्कृतिमा श्रमिकको स्थानलाई उच्च स्तरमा राख्छ। तथापि, पछिल्लो समय पश्चिमी सांस्कृतिक प्रभावले गर्दा श्रमिक दिवसका रूपमा मई दिवसलाई मुख्य रूपमा मनाउन थालिएको छ। यो एउटा सांस्कृतिक अतिक्रमण हो र यसले हाम्रो मौलिक श्रमिक सम्मानजन्य परम्परालाई कमजोर बनाएको छ। यसकारण, हाम्रो हिन्दू संस्कृतिमा आधारित श्रमिक दिवसको पुनःप्रवर्द्धन गर्न आवश्यक छ। हामीले हाम्रै सांस्कृतिक धरोहरलाई बचाउनु र श्रमिकको सम्मानको परम्परालाई प्रबर्द्धन गर्नु पर्छ।”
उक्त छलफल कार्यक्रममा अभियानका वरिष्ठ नेता माननीय बिपी यादवले पनि आफ्नो विचार राख्दै हिन्दू संस्कृतिमा श्रमिकहरूको योगदानको महत्त्वलाई अझ गहिरो रुपमा बुझ्न र समाजमा यसको प्रचार-प्रसार गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “विश्वकर्मा पूजा हाम्रो संस्कृति र श्रमिकहरूको योगदानलाई सम्मान गर्ने एउटा महत्त्वपूर्ण अवसर हो। यसलाई अझ व्यापक बनाउँदै, हिन्दू संस्कृतिमा श्रमिकहरूको भूमिका र योगदानको विषयलाई सबैले बुझ्नुपर्ने आवश्यकता छ।”
कार्यक्रमका अन्त्यमा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले आफ्नो मन्तव्य राख्दै विश्वकर्मा पूजालाई श्रमिक पूजा का रूपमा समाजमा स्थापित गर्ने अभियानको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “विश्वकर्मा पूजा केवल धार्मिक पर्व मात्र होइन, यो श्रमिकहरूको सम्मान र योगदानलाई मनाउने पर्व हो। राष्ट्रिय एकता अभियानले यस पर्वलाई श्रमिक दिवसका रूपमा प्रबर्द्धन गर्ने र यसलाई अझ व्यापक बनाउँदै भविष्यमा यसको प्रचार-प्रसारमा विशेष पहल गर्ने योजना बनाएको छ।”
कार्यक्रममा सहभागी भएका अन्य व्यक्तिहरूले पनि विश्वकर्मा पूजालाई सामाजिक, सांस्कृतिक र श्रमिक सम्मानको दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औंल्याए। कार्यक्रमको समापनमा अभियानका केन्द्रीय अध्यक्षले आगामी वर्षदेखि यस पर्वलाई अझ व्यापक रूपमा मनाउने योजना रहेको जानकारी दिनुभयो, जसले समाजमा श्रमिकहरूको सम्मानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको संचालन अभियानका युवा नेता दिवस पटेलले गर्नु भएको थियो।