समाचार

प्रधानमन्त्री ओली किन भारतसँग त्रसित छन्?

प्रधानमन्त्री ओली किन भारतसँग त्रसित छन्?

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणका क्रममा दिल्लीमा पाएको स्वागत सत्कारले प्रधानमन्त्री केपी शर्मा ओलीमा त्रास र छटपटी थपेको जानकारी प्राप्त भएको छ। सार्वजनिक रूपमा केही नदेखाए पनि गोप्य छलफलहरूमा सत्ता साझेदार नेपाली कांग्रेस र छिमेकी भारतप्रति ओलीको आशंका बढेको विश्वस्त स्रोतले बताएको छ।

आरजु नेपाल फर्किएपछि भदौ ७ गते राति १२ बजे अशोक राईलाई बालुवाटार बोलाएर ओलीले गम्भीर छलफल गर्नुभएको थियो। भारतले भ्रमणको निम्तो नदिँदा निराश ओलीले अशोकलाई प्रस्ताव राख्दै भन्नुभयो, "अब हामी एकतावद्ध बनौं, कांग्रेसको भरोसा छैन, तपाईंहरूको सहयोग आवश्यक छ।"

प्रधानमन्त्री ओलीको विश्वास कांग्रेसबाट टुट्दै गएको संकेत पनि पाइन्छ। आरजुको भारत भ्रमणपछि "महिला प्रधानमन्त्री बनाउने तयारी"को अभिव्यक्ति मार्फत उनले भारत र बूढानिलकण्ठलाई आश्वस्त पार्न खोज्नुभएको थियो। रामेश्वर थापाको पुस्तक बिमोचन कार्यक्रममा देउवाको अगाडि आलोपालो प्रधानमन्त्रीको सहमति पालन गर्ने बाचा दोहोर्याउनुभएको थियो। अशोकसँग मिलेर एमालेलाई संसद्को सबैभन्दा ठूलो दल बनाउने योजना ओलीले अघि बढाउन खोजिरहनुभएको छ।

सात सिटे अशोक राईलाई एमालेमा मिसाउन खोज्नुको कारण संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बन्न चाहने ओलीको रणनीति हो। जसपाबाट फुटेका अशोकलाई एमालेमा समेट्न र अन्य विभाजन गर्न खोजिएका सांसदहरूलाई पनि तान्ने योजना उनले बनाएका छन्।

तर, यो योजना सर्वोच्च अदालतमा विचाराधीन जसपा विभाजनको मुद्दाका कारण सफल हुन सकेको छैन। अशोक राईहरू भने प्रचण्ड र माधव नेपालसँग पनि संवादमा रहेको स्रोतले बताएको छ। यद्यपि, ओलीले बालुवाटारमा अशोकलाई भेटेर कांग्रेस र भारतप्रति बढेको आशंका व्यक्त गर्दै उनलाई आफ्नो पक्षमा राख्न खोज्नुभएको बुझिएको छ।

प्रधानमन्त्री ओलीको भारतसँगको सम्बन्ध बिग्रनुको प्रमुख कारण उनका राम र अयोध्या सम्बन्धी अभिव्यक्ति रहेको बताइन्छ। भारतीय नेताहरूले यो विषयलाई संवेदनशील ठानेका छन्। यसैगरी, संसदबाट 'सिन्हमेव जयते'को अभिव्यक्तिले पनि भारतलाई असन्तुष्ट बनाएको छ।

यो समग्र घटनाक्रममा ओलीको रणनीति र कांग्रेसको भूमिका कसरी अगाडि बढ्छ भन्ने चासोको विषय बनेको छ। दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन कांग्रेसले सहयोग गर्ने सम्भावना न्यून देखिएको छ।

यो समाचार जनआस्थ साप्ताहिकमा प्रकाशित भएको हो।