समाचार मुख्य समाचार

पिंगलास्थानस्थित होटलमा युवती मृत फेला, प्रेमी खोज्दै प्रहरी 

पिंगलास्थानस्थित होटलमा युवती मृत फेला, प्रेमी खोज्दै प्रहरी 

काठमाडौँको गौशालास्थित होटलमा हिजो मृत भेटिएकी युवतीको हत्या भएको खुलेको छ । 

कागेश्वरी मनोहराकी २१ वर्षीया सुस्मिता खड्का हिजो बागमती होटलको कोठा नं ३०८ मा मृत भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानबाट उनको हत्या प्रेमी देवबहादुर थापाले गरेको निश्कर्षमा प्रहरी पुगेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार अंग्रेजी नयाँ वर्ष मनाउन उनीहरु मंगलबार बिहान होटलमा गएका थिए । होटल पुगेको केहीबेरमा थापा कोठामा ताला लगाएर एक्लै निस्किएका थिए । 

लामो समयसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । साँझ ढोका खोलेर हेर्दा बेडमा सुस्मिताको शव भेटिएको थियो । शवको छेवैमा रेडबुलको बट्टा पनि भेटिएकाले नशालु पदार्थ खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

हाल फरार रहेका थापाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनी केही समयअघि मात्रै जापानबाट आएको र सुस्मिता पनि उतै जाने तयारीमा रहेको बुझिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटनालाई हत्या भएको हुन सक्ने सम्भावना औंल्याएको छ। मृतकसागै आएका युवक बेपत्ता भएकाले घटनामा उनको संलग्नताको शंका गरिएको हो ।

घटनास्थलको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली परिचालन गरिएको छ ।