समाचार

कवाड व्यवसायीहरूमाथि दमन: जसपाद्वारा कडा आपत्ति, व्यवसायको संरक्षणको माग

कवाड व्यवसायीहरूमाथि दमन: जसपाद्वारा कडा आपत्ति, व्यवसायको संरक्षणको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि कुटपिट, गालीगलौज, दमन, उत्पीडन र अभद्र व्यवहार गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

जसपाका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै कवाड व्यवसायीहरूको सुरक्षा र उनीहरूलाई स्वतन्त्र रूपमा व्यवसाय सञ्चालन गर्न पाउने मौलिक अधिकारको प्रत्याभूति सरकारले गराउनुपर्ने माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ कि सरकारले अनुमति दिएर काठमाडौं महानगरपालिकामा विगत २५ वर्षदेखि कवाड व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले सबै कर तिर्दै आएका छन्। यस व्यवसायमा १ लाखभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन्। यसले देशका उद्योगलाई कच्चा पदार्थ उपलब्ध गराउनुका साथै वातावरणीय सरसफाइमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

तर, यस्तो योगदानका बाबजुद काठमाडौं महानगरपालिकाले हाल आएर कवाड व्यवसायीहरूमाथि कुटपिट, गालीगलौज, दमन र अभद्र व्यवहार गरी यो व्यवसाय रोक्न खोज्नु र लाखौँ व्यक्तिलाई बेरोजगार बनाउने प्रयास गर्नु अत्यन्तै पूर्वाग्रही, गलत र निन्दनीय रहेको जसपाले जनाएको छ।

प्रवक्ता सुमनले सरकार र सम्बन्धित निकायलाई यस प्रकारका दमनकारी गतिविधि तुरुन्त रोक्न, कवाड व्यवसायीहरूको अधिकारको संरक्षण गर्न, र उनीहरूलाई व्यवसाय सञ्चालनमा कुनै पनि किसिमको अवरोध नपुर्‍याउन आग्रह गरेका छन्।