समाचार देश राजनीति

कास्की अदालतमा बहस: आज लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूको पालो

कास्की अदालतमा  बहस: आज लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूको पालो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनाविरूद्ध कास्की अदालतमा दर्ता भएको मुद्दामा आज पनि थुनछेक बहस जारी रहनेछ।पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा बिहीबार लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूले बहस गर्दैछन्।सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेसहित ७ जनासँगको बयान सकिएसँगै कारागार बसेर मुद्दा लड्ने कि तारेख वा धरौटीमा छुटेर मुद्दा लड्न दिने भनेर पुस १६ गतेदेखि कास्की अदालतमा थुनछेक बहस जारी छ।मंगलबार र बुधबार सरकारी वकिलहरूले बहस गरेका थिए।

 

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा मंगलबार जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले बहस गरेका थिए।उनीहरूले मुलुकी फौजदारी संहिताले गरेको व्यवस्था अनुसार प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार पठाउनुपर्ने बताएका थिए।बुधबार नायब महान्यायाधीवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधीवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए।उनीहरूले पनि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए।सरकारी वकिलको बहस सकिएपछि बिहीबार पहिले जाहेरीवाला सरकारी पीडितका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।

 

त्यसपछि प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गर्नेछन्।प्रतिवादीका तर्फबाट सबैभन्दा पहिला पूर्वडिआइजी छविलाल जोशीले कानुन व्यवसायीले बहस गर्नेछन्। त्यसपछि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने तयारी भएको लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले जानकारी दिए।प्रतिवादीका तर्फबाट बहस गर्दा भोलि छविलाल जोशीका कानुन व्यवसायीले बहस गर्नुहुनेछ, त्यसपछि मात्र हाम्रो पालो आउला,’ घिमिरेले भने।सहकारी पीडितका कानुन व्यवसायी पराजुलीका अनुसार रवि लामिछानेका तर्फबाट १५ जना, पूर्वडिआइजी जोशीका तर्फबाट ६ जना, लिला पछाईंका १ जना र बाँकी प्रतिवादीका तर्फबाट २,२ जना कानुन व्यवसायीले बहस गर्नेछन्।सूर्यदर्शन सहकारी ठगी आरोपमा पीडितले दिएको पूरक जाहेरीका आधारमा अहिले ७ जनाविरूद्ध अदालत थुनछेक बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्व डिआइजी जोशी, नेचर हर्ब्स इन्टरनेसनलका संचालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङविरूद्ध अदालतमा थुनछेक बहस चलेको हो।

 

जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारी ठगी आरोपमा गत वर्ष असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि जिल्ला अदालतमा विचाराधीन छ। उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग अदालतमा पेस गरिएको छ।सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई) उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ।पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरूङ, भविश्वर अर्याल र आइस्मा गुरूङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको थियो।सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी संचालक लगायत व्यक्तिविरूद्ध शुरुमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूसँग १ अर्ब ५१ करोड बढी रकम बिगो माग गरिएको छ।