पार्टीभित्रैकै मान्छेले मलाई कारबाही गरे डा. मुकुल ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गरेका छन् ।बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई पार्टीबाट कारबाही गरेर सभापतिमाथि नै प्रहार गरेको बताएका हुन् ।
उनले लेखेका छन् , ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरेँ, म असफल रहेँ । मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टी बाहिरबाट खेले । पार्टीभित्रैबाट पनि खेले । मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने, तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नुभएको थियो । मैले बारबार सम्झाएँ, बुझाएँ, तर खाल्डोमा परेको कुरा पत्याउनुभएन । उल्टै मलाई कारबाही गर्नुभयो ।
अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नुभयो र म पनि त्यसैअनुसार प्रतिक्रियात्मक हुन पुगेँ । ’यसैगरी उनले पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको बताएका छन् । उनले थप भनेका छन्, ‘पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पुर्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन्, अब जब कुराहरू पूरा हुँदै छ, अलिअलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ । तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुन्जेल धेरै ढिलो भइसकेको नहोस् ।’