मधेश विश्वविद्यालयकाे युवती काण्ड: रजिष्ट्रारका अन्तरंग तस्वीरले नयाँ विवाद थप्याे!
मधेश विश्वविद्यालय वीरगञ्जमा अनियमितताको छानबिन गर्न मुख्यमन्त्री सतीश कुमार सिंह सक्रिय भइरहेका बेला रजिष्ट्रार विजय यादवसँग जोडिएको युवती काण्डले थप सनसनी मच्चाएको छ।
विश्वविद्यालयका कर्मचारीको रूपमा काम गर्ने बताइएकी युवती र रजिष्ट्रारकी पत्नीबीचको च्याट संवादले यो विवादलाई गहिर्याएको छ। नेपाल आजले प्राप्त च्याट संवादमा युवतीले रजिष्ट्रारकी पत्नीलाई "तपाईंको श्रीमान् अब कुनै हालतमा फिर्ता हुने छैनन्" भन्ने धम्की दिएको देखिन्छ।
गैरकानुनी नियुक्ति र सम्बन्धका आरोप
युवतीको नियुक्ति गैरकानुनी रूपमा भएको र राजनीतिक पहुँचको बलमा उनी विश्वविद्यालय प्रवेश गरेको स्रोतहरूले जनाएका छन्। साथै, रजिष्ट्रार र युवतीबीचको सम्बन्धले विश्वविद्यालयको पवित्रतालाई चुनौती दिएको कर्मचारीहरूले गुनासो गरेका छन्।
उपकुलपति डा. दीपक शाक्यले आफ्नै वीरगञ्ज क्याम्पसमा कार्यरत विजय यादवलाई रजिष्ट्रार पदमा नियुक्त गरेको र दुवै मिलेर अनियमितता ढाकछोप गरेको आरोप छ।
विवादले विश्वविद्यालयमा हलचल
रजिष्ट्रार यादव र युवतीबीच उमेरको ठूलो अन्तर रहे पनि उनीहरूका अन्तरंग तस्बिर र भिडियोहरू युवतीले सार्वजनिक गर्ने धम्की दिएको च्याट संवादले स्पष्ट पार्छ।
नेपाल आजलाई प्राप्त तस्बिरहरूमा रजिष्ट्रार र युवती होटल तथा नदी किनारामा सँगै रमाइरहेको देखिएको छ। यसले विश्वविद्यालयको वातावरण दूषित भएको भन्दै कर्मचारीहरूले असन्तोष व्यक्त गरेका छन्। करारमा कार्यरत कर्मचारीहरूले मुख खोल्न खोज्दा जागिर गुम्ने धम्की पाएको बताएका छन्।
मुख्यमन्त्रीको छानबिन आदेश
मुख्यमन्त्री सिंहले अनियमितताबारे छानबिन गर्ने बताएका छन्। तर, हालसम्म कुनै ठोस कदम अगाडि नबढ्दा जनस्तरमा असन्तोष बढेको छ। बाल संगठनसँग जोडिएको जग्गा अवैध रूपमा लिजमा लिएको र विश्वविद्यालयको बजेट मनपरी ढंगले चलाइएको आरोपले शाक्य र यादवमाथि गम्भीर प्रश्न उठाएका छन्।
धारणा
नेपाल आजले यस विवादमा मुछिएका पक्षहरूसँग सम्पर्क गरी स्पष्टीकरण लिन खोज्दा, रजिष्ट्रार यादवले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। उपकुलपति डा. शाक्यसँग पनि सम्पर्क गर्न नसकिने अवस्था रहेको छ।
यदि रजिष्ट्रार विजय यादव वा उपकुलपति डा. दीपक शाक्यले यस प्रकरणमा आफ्नो धारणा राख्न चाहेका खण्डमा नेपाल आजले उनीहरूको स्पष्टीकरणलाई प्रकाशन गर्नेछ।
यो प्रकरणले मधेश विश्वविद्यालयको मात्रै होइन, सम्पूर्ण शैक्षिक संस्थाको विश्वसनीयता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। विश्वविद्यालयको स्थायित्व र पवित्रता बचाउन तुरुन्त कडा कदम चाल्नुपर्ने आवाज उठिरहेको छ।