दशैं मनाउन घर फर्किएका नौ दिने शिशुका पिताको वीरगन्जमा हत्या

वीरगन्ज । दशैं मनाउन मुम्बईबाट घर फर्किएका वीरगन्ज–११ रानीघाटका ३० वर्षीय शिवम साह कानुनको धारिलो हतियार प्रहार गरी मंगलबार राति हत्या भएको छ।
प्रहरीका अनुसार राति गीता मन्दिर नजिक दुई समूहबीच झडप हुँदा शिवम गम्भीर घाइते बनेका थिए। उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले शिवमको शरीरमा आधा दर्जनभन्दा बढी गहिरा चोट रहेको बताए। देब्रे र दाहिने घाटी, पिठ्युँ र छातीमा परेको घाउका कारण अत्याधिक रक्तस्राव भई मृत्यु भएको हुनसक्ने उनको अनुमान छ। शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। स्थानीयले दशैंको मेलाको बहानामा गीता मन्दिर छेउमा अवैध जुवा खेलाइँदै आएको र त्यही विवादले झडप चर्किँदा हत्या भएको आशंका व्यक्त गरेका छन्।
पीडितका परिवारले भने घटनामा दोहोरो पीडा भोगेको बताएका छन्। शिवमकी पत्नीले घटस्थापनाकै दिन नवजात शिशु जन्माएकी थिइन्। चार महिनाअघि मुम्बईबाट फर्किएका शिवम नौ दिने छोरा र परिवारसँग दशैं मनाउने तयारीमा थिए।
यसअघि झन्डै एक हप्ता अगाडि शिवमका दाइ सत्यम साहको पनि साथीसँगै योजनाबद्ध रूपमा दूधमा विष खुवाएर हत्या भएको परिवारले दाबी गरेको छ। परिवारका अनुसार सो घटनामा किटानी जाहेरी दिए पनि हालसम्म कुनै कारबाही नभएकोप्रति गुनासो छ।
murder