राष्ट्रपति ट्रम्पले चीनको दुर्लभ तत्व निर्यात नियन्त्रणप्रति प्रतिक्रिया दिँदै २०२५ नोभेम्बरदेखि १००% कर लगाउने तयारी!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आगामी भेट ‘रद्द भएको होइन’ भन्दै यसबारे फैलिएको भ्रम स्पष्ट पारेका छन्। उनले भने, “मैले बैठक रद्द गरेको होइन। म पक्का छैन, तर सम्भावना खुला छ।”
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्वको निर्यातमा इजाजतपत्र अनिवार्य गर्ने नयाँ नीति ल्याएको विषयलाई “अप्रत्याशित र अचम्मलाग्दो” भनेका छन्। उनका अनुसार, चीनले कुनै पूर्वसूचना बिना आयात–निर्यात प्रणालीमा कडा नियन्त्रण नीति लागू गरेको छ, जसले विश्व बजारमा अनिश्चितता बढाएको छ।
यसअघि उनले चीनको यो निर्णयलाई “शत्रुतापूर्ण कदम” भन्दै अमेरिकाले यसको प्रतिकारमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका थिए। तर पछिल्ला अभिव्यक्तिमा उनले व्यक्तिगत सम्बन्ध र संवादका ढोका अझै खुला रहेको संकेत दिएका छन्।
ट्रम्पका अनुसार, “म र राष्ट्रपति सीबीच राम्रो सम्बन्ध छ। यो परिस्थिति मैले सिर्जना गरेको होइन। उनीहरूले सुरु गरेका हुन्, र हामी त्यसको प्रतिक्रिया दिइरहेका छौं। यो कदमले अमेरिकामात्र होइन, विश्व अर्थतन्त्रमा पनि ठूलो असर पार्नेछ।”
चीनले दुर्लभ पृथ्वी तत्व र तिनसँग सम्बन्धित प्रविधिको निर्यात नियन्त्रण कडा बनाएको छ। यी तत्वहरू उच्च प्रविधि, अर्धचालक र रक्षा उद्योगमा अत्यावश्यक कच्चा पदार्थका रूपमा प्रयोग हुने गर्छन्। चीन विश्व बजारमा ती तत्वहरूको प्रमुख आपूर्तिकर्ता मानिन्छ।
यसको प्रतिक्रियामा ट्रम्पले सन् २०२५ नोभेम्बर १ देखि चीनबाट आयात हुने सबै सामानमा १०० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन्। साथै, उनले महत्त्वपूर्ण सफ्टवेयरमाथि पनि निर्यात नियन्त्रण नीति लागू गरिने बताएका छन्।
ट्रम्पले चीनको निर्णयलाई “अन्तर्राष्ट्रिय व्यापारका आधारभूत मूल्यविरुद्धको कदम” भन्दै आलोचना गर्दै भनेका छन्, “चीनले विश्वका सबै देशलाई असर पार्ने निर्णय गरेर खतरनाक सन्देश दिएको छ। यो आर्थिक मात्र होइन, नैतिक दृष्टिले पनि अस्वीकार्य छ।”
विश्लेषकहरूका अनुसार, चीन र अमेरिकाबीचको यो नयाँ विवादले व्यापार तनावलाई फेरि बढाउने संकेत दिएको छ। आगामी महिनाहरूमा दुवै देशले अपनाउने कूटनीतिक र आर्थिक रणनीतिले विश्व अर्थतन्त्रको दिशालाई गहिरो रूपमा प्रभावित गर्ने सम्भावना देखिएको छ।