राजनीति

जेन–जी आक्रमणपछि पहिलोपटक सार्वजनिक हुँदै कांग्रेस सभापति देउवा!

जेन–जी  आक्रमणपछि पहिलोपटक सार्वजनिक हुँदै कांग्रेस सभापति देउवा!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज लामो उपचारपछि पहिलोपटक सार्वजनिक हुन लाग्नुभएको छ। उहाँले पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

देउवामाथि गत भदौ २४ गते जेन–जेड आन्दोलनको क्रममा बूढानीलकण्ठस्थित निवासमै आक्रमण भएको थियो। आक्रमणपछि भएको आगजनीमा उहाँ घाइते हुनुभएको र उपचारका क्रममा गर्दनमा १२ वटा टाँका लगाइएको थियो। त्यस यतादेखि उहाँ सार्वजनिक रूपमा देखिनुभएको थिएन।

पार्टीका अनुसार आजको बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु गर्ने तयारी भए पनि दिउँसो २ बजेसम्म बैठक सुरु हुन सकेको थिएन। सभापति देउवा बैठकमा उपस्थित हुने खबर सार्वजनिक भएपछि सानेपामा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिती देखिएको छ।

देउवाको आजको सम्बोधनले कांग्रेसभित्रको आगामी राजनीतिक रणनीति, जेन–जेड आन्दोलनपछिको पार्टीको भूमिकाबारे स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ। लामो मौनतापछि देउवा सार्वजनिक मञ्चमा फर्किँदा उनको स्वास्थ्य र राजनीतिक दृष्टिकोण दुवै पक्षबाट देशको ध्यान आकृष्ट भएको छ।