कांग्रेसको आरोप: ओली र लेखकको राहदानी रोक्का राजनीतिक प्रतिशोध

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायत पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयलाई राजनीतिक प्रतिशोधपूर्ण कदम भन्दै कडा आपत्ति जनाएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी वक्तव्यमा छानबिन प्रक्रियै सुरु नहुँदै राहदानी रोक्का गर्ने निर्णय असंवैधानिक, गैरकानुनी र मानव अधिकारविपरीत रहेको आरोप लगाइएको छ। वक्तव्यमा भनिएको छ, “कथित आयोगको हवाला दिँदै आवतजावत नै रोक्ने गरी गरिएको निर्णयले नागरिक स्वतन्त्रता र विधिको शासनको धज्जी उडाएको छ।”
भदौ २३ र २४ गतेको जेन-जि आन्दोलनपछिको घटनाबारे बनेको छानबिन आयोगले ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो। उनीहरूलाई आयोगको अनुमति विना उपत्यका बाहिर जान पनि रोक लगाइएको छ।
कांग्रेसले भने घटनाको वास्तविक छानबिन गर्नुको सट्टा सरकार विरोधी नेतामाथि लक्षित कारबाही गर्न खोजेको आरोप लगाएको छ। वक्तव्यमा भनिएको छ, “राजनीतिक दल र नेतामाथि बदलापूर्ण आक्रमण गर्ने, तर प्रष्ट प्रमाणसहित अपराधमा संलग्नलाई उन्मुक्ति दिन खोज्ने नीति नेपाली जनताले स्वीकार गर्ने छैन।”
यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले समेत ओली र महेश बस्नेतमाथि प्रतिशोध भए सह्य नहुने चेतावनी दिएको थियो। कांग्रेस र एमाले दुबै पक्षका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत सरकारको पछिल्लो कदमप्रति असन्तोष प्रकट गर्दै आएका छन्।
Nepali Congress