मन्त्री महावीर पुनको जेन–जी पुस्तालाई सन्देश: गुटबन्दीको इतिहास दोहोर्याउन नदिनुहोस्!

मन्त्री महावीर पुनको जेन–जी पुस्तालाई सन्देश: गुटबन्दीको इतिहास दोहोर्याउन नदिनुहोस्!

शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुनले आइतबार जेन–जी पुस्तालाई सम्बोधन गर्दै राष्ट्रिय एकताको आवश्यकता र गुटबन्दीको जोखिमबारे विस्तृत सन्देश सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले देशको राजनीतिक इतिहासका विभिन्न कालखण्ड उदाहरण दिँदै चेतावनी दिएका छन् कि “गुटबन्दी र खुट्टा तानातानको संस्कृतिले नै नेपालको शासन व्यवस्था पटक–पटक कमजोर बनाएको” हो।

उनका अनुसार, नेपालको इतिहासमा बारम्बार देखिएको यही प्रवृत्तिले १०४ वर्षको राणातन्त्रदेखि लिएर प्रजातन्त्र र लोकतन्त्रका सबै चरणहरूमा राष्ट्रिय उपलब्धिलाई कमजोर बनाएको छ। पुनले सन्देशमा लेखेका छन्, “नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भन्ने विवाददेखि सुरु भएको खुट्टा तानातान गीर्वाण युद्धविक्रम र राजेन्द्रविक्रम शाहसम्म पुग्दा चरम बिन्दुमा पुगेको थियो, जसको परिणामस्वरूप देशले एक शताब्दीसम्म निरंकुश शासन बेहोर्नुपर्‍यो।”

राणातन्त्रपछिका राजनीतिक अध्यायहरू पनि त्यही गलत परम्पराको पुनरावृत्ति भएको उनको तर्क छ। उनले वीरशम्शेरदेखि सुरु भएको राणा परिवारभित्रको वर्गीकरण र आन्तरिक संघर्षले शासन कमजोर पारेको र अन्ततः २००७ सालको जनक्रान्तिबाट राणातन्त्र अन्त्य भएको उल्लेख गरेका छन्।

२००७ सालपछि पनि राजनीतिक दलहरूबीचको अविश्वास र प्रतिस्पर्धाले प्रजातान्त्रिक प्रणाली कमजोर बनाएको पुनले व्याख्या गरेका छन्। उनले लेखेका छन्, “२०१५ सालसम्म संसदिय चुनाव ढिलाइ हुनुको मुख्य कारण दलबीचको खुट्टा तानातान हो, जसको परिणामस्वरूप राजा महेन्द्रले चुनाव नगराउने बहाना पाएका थिए।”

पञ्चायती शासनको उदाहरण दिँदै उनले सो कालमा पनि विभिन्न गुटहरूबीचको प्रतिस्पर्धा र दरबारभित्रको षड्यन्त्रकै कारण व्यवस्था कमजोर भएको बताएका छन्। “सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र मरिचमान सिंहजस्ता गुटहरूबीचको द्वन्द्वले २०४६ सालको आन्दोलनलाई मार्ग प्रशस्त गर्‍यो,” उनको भनाइ छ।

२०४६ सालपछि स्थापन भएको बहुदलीय लोकतन्त्रमा पनि पुनले पुरानै गल्ती दोहोरिएको बताउँदै जेन–जी आन्दोलनको उदयलाई त्यसकै परिणामका रूपमा व्याख्या गरेका छन्। “जेन–जीले आन्दोलनको सुरुवात गरे पनि त्यसलाई आम जनताले साथ दिए, किनभने भ्रष्टाचार र राजनीतिक गुटबन्दीले देश बर्वाद भएको सबैले देखेका थिए,” उनले भनेका छन्।

अन्त्यमा मन्त्री पुनले युवाहरूप्रति आग्रह गर्दै लेखेका छन्, “तपाईंहरूमा उत्साह र निष्ठा छ, तर सफल हुनका लागि एकता अपरिहार्य छ। तपाईँहरू बीच पनि गुटबन्दी र खुट्टा तान्ने प्रवृत्ति देखा परिरहेको छ। मातृभूमिको अस्तित्वका लागि यो इतिहास दोहोर्याउनु हुँदैन।”

उनको सन्देशले हालको राजनीतिक संक्रमण र नयाँ पुस्ताको असन्तोषबीच एउटा महत्त्वपूर्ण सन्देश दिएको छ — नेपालको भविष्य एकता र विवेकमा निर्भर छ, न कि पुनः विभाजन र अविश्वासमा।

संम्बधित खबर