अपराध सुरक्षा

सडकभन्दा भ्रष्टाचार बलियो! लहान डिभिजनका इन्जिनियरमाथि २ करोड ३४ लाखको मुद्दा

सडकभन्दा भ्रष्टाचार बलियो! लहान डिभिजनका इन्जिनियरमाथि २ करोड ३४ लाखको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहानका तत्कालीन डिभिजनल इन्जिनियर रविन्द्रलाल दाससहित चार जनामाथि करिब दुई करोड ३४ लाख रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूविरुद्ध सिराहाको कल्याणपुर नगरपालिका–५, चिकनास्थित सडक ढलान परियोजनामा गुणस्तरहीन सामग्री प्रयोग गरी मनोमानी ढंगले काम सम्पन्न गरेको र सरकारी रकम हिनामिना गरेको अभियोग लगाइएको हो।

आयोगका अनुसार प्रदेश सरकारको योजनामा सडक डिभिजन लहानले निर्माण व्यवसायी जय धनन्जय/रब्बानी जे.भी.लाई जिम्मा दिएको उक्त योजना २०७७ असार २१ गते सम्झौता भई २०७७ चैत ३० गतेभित्र सम्पन्न गर्ने तय भएको थियो। तर कार्य तोकिएको समयमै सम्पन्न नगरी, गुणस्तर परीक्षणका नमुना (क्युब कास्टिङ) समेत भ्रामक रिपोर्टसहित प्रस्तुत गरिएको प्रमाण फेला परेको आयोगको अनुसन्धानमा उल्लेख छ।

निर्माण अवधिमा तयार गरिएका ५० वटा कंक्रिट नमुना सडक डिभिजनकै ल्याबमा परीक्षण गरिएको देखिए पनि, पछि निर्माणस्थलमा प्रयोग नभएका दसवटा नमुना पुनः परीक्षण गरी गलत परिणामसहित भुक्तानीका लागि प्रयोग गरिएको आयोगको दाबी छ। आयोगले यसलाई इन्जिनियर र निर्माण व्यवसायीबीचको मिलेमतोबाट गरिएको “जानाजानी त्रुटिपूर्ण प्रक्रिया” मानेको छ।

मुद्दामा तत्कालीन डिभिजनल इन्जिनियर रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी, जय धनन्जय/रब्बानी जे.भी. र रब्बानी कन्सट्रक्सनका प्रोप्राइटर जफिर कवारीलाई प्रतिवादी बनाइएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको सजाय माग गर्दै बुधबार विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

सडक निर्माणजस्ता पूर्वाधार योजनामा गुणस्तर परीक्षणमा देखिएको अनियमितता विगत केही वर्षयता बारम्बार देखिँदै आएको छ। आयोगले यस प्रकरणलाई “सार्वजनिक निर्माण प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको गम्भीर उल्लङ्घन”का रूपमा लिँदै आगामी दिनमा यस क्षेत्रका ठेक्का प्रक्रियामा कडाइका साथ निगरानी बढाउने संकेत दिएको छ।