भारत–नेपाल सीमामा हुण्डी कारोबारको सञ्जाल? १९ वर्षीय युवक रकमसहित पक्राउ

विशेष सूचनाको आधारमा पर्सा प्रहरीले वीरगञ्ज–१०, आदर्शनगरस्थित नबिल बैंक अगाडिको सडक खण्डबाट शंका लागेका एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा ४ लाख ३४ हजार रुपैयाँ हुण्डीको रकम बरामद गरेको छ। पक्राउ परेका व्यक्ति वीरगञ्ज–१६ का १९ वर्षीय किशन यादव रहेका छन्।
प्रहरीका अनुसार मिति २०८२ असोज २६ गते दिउँसो करिब १२ बजे गस्तीमा खटिएको प्रहरी टोलीले यादवलाई संकास्पद रूपमा हिँडिरहेको अवस्थामा रोकी खानतलासी गर्दा उनको सेतो जिन्स पाइन्टको खल्तीमा नेपाली ५०० दरका ८६८ नोट फेला परेका हुन्। बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको छ।
पर्सा प्रहरी कार्यालयले यादवमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसूरमा मुद्धा दर्ता गरी पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान सुरू गरेको जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बरामद रकम वैध माध्यमबाट सञ्चालित नगद कारोबारसँग सम्बन्धित नभएको देखिएको छ।
हाल अनुसन्धान टोलीले रकमको स्रोत, संलग्न अन्य व्यक्ति तथा सम्भावित हुण्डी नेटवर्कबारे तथ्य संकलन गरिरहेको छ। पछिल्ला महिनामा भारत–नेपाल सीमाक्षेत्रमा हुण्डी कारोबार बढ्दै गएको पृष्ठभूमिमा प्रहरीले निगरानी र नियन्त्रण अभियानलाई कडाइका साथ निरन्तरता दिने जनाएको छ।