कास्की कारागार काण्ड: ‘जेनजी’ आन्दोलनपछि फरार ८१ कैदी पक्राउ!

गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये ८१ जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार, स्वःस्फूर्त रूपमा फर्कन सरकारले दिएको समयसीमा सकिएपछि ती फरार कैदीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
कारागार विभागले असोज १२ गते सूचना जारी गरी असोज २० गतेभित्र आत्मसमर्पण गर्न आग्रह गरेको थियो। तर सो अवधिमा हाजिर नभएकाहरूलाई पक्राउ गर्ने अभियान जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटहरूले सञ्चालन गरेका हुन्। बस्नेतका भनाइमा, “जेल तोडफोड र आगजनीपछि फरार भएका कैदी तथा थुनुवालाई खोजतलास गर्न हामीले निरन्तर अभियान चलाइरहेका छौँ।”
पक्राउ परेकामध्ये जबर्जस्ती करणी र लागूऔषध मुद्दाका १६–१६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यानका आठ जना, ज्यान मार्ने उद्योगका नौ जना, अभद्र व्यवहारका चार जना र सवारी, कुटपिट तथा मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका छन्।
जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माका अनुसार, भदौ २४ को घटनामा ७७३ जना कैदीबन्दी फरार भएका थिए, जसमा करिब दुई सयभन्दा बढी अझै लापत्ता छन्। फरारहरूलाई असोज २० गतेसम्म फर्कन अन्तिम समय दिइए पनि धेरैले सो अवसर उपयोग गरेनन्। शर्माले भने, “अब बाँकी फरारहरूलाई कानुनअनुसार पक्राउ गरी कारबाही हुनेछ। तिनलाई लुकाउने वा आश्रय दिनेहरूलाई पनि कानूनी दायरामा ल्याइनेछ।”
प्रदर्शनका क्रममा कारागारमा आगजनी हुँदा कागजी अभिलेखहरू नष्ट भए पनि कम्प्युटर अभिलेख सुरक्षित रहेको प्रशासक शर्माले जनाएका छन्। कैदीहरूको विवरण केन्द्रीय विभागको डिजिटल नेटवर्कमा दर्ता भएकाले खोजी कार्यमा सहजता भएको उनले बताए।
जेनजी आन्दोलनपछि देशभरका कारागारहरूमा सुरक्षा कडाइ गरिएको छ। कास्की घटनापछि सुरक्षा प्रणाली सुधार र बन्दी व्यवस्थापनमा देखिएका कमजोरीमाथि समेत पुनरावलोकन गर्न सरकार दबाबमा परेको छ। प्रहरीको पछिल्लो कारबाहीले कानूनको उपस्थिति पुनः स्थापित गर्ने सन्देश दिएको भए पनि बाँकी फरार कैदीहरू पक्राउ नपर्दासम्म जनसुरक्षाप्रति शंका कायम रहने देखिन्छ।