प्रविधि

टिकटकमार्फत अफवाह फैलाएको आरोपमा दुई युवक पक्राउ: ट्राफिक प्रहरीको कारबाही

टिकटकमार्फत अफवाह फैलाएको आरोपमा दुई युवक पक्राउ: ट्राफिक प्रहरीको कारबाही

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सामाजिक सञ्जाल टिकटकमार्फत भ्रम फैलाएको आरोपमा दुई युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार ती युवाहरूले ट्राफिक प्रहरी कार्यालय परिसरमै मोटरसाइकल मर्मतको क्रममा भिडियो खिची त्यसलाई नकारात्मक प्रभाव पार्ने किसिममा टिकटकमा अपलोड गरेका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार असोज ३० गते बागमती प्रदेश–०२–०५१ प ६३५४ नम्बरको मोटरसाइकल लापरवाहीपूर्वक चलाएको अभियोगमा कागेश्वरी मनोहरा–२ का २४ वर्षीय सजन श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो। उक्त मोटरसाइकलमा ‘क्रस फायर’ ब्रान्डको ह्यान्डिल जडान गरिएको र त्यसले सवारी मापदण्ड उल्लङ्घन गरेको प्रहरीले जनाएको छ।

जाँचका क्रममा श्रेष्ठले भारतको सीतामढी घर भई हाल काठमाडौँ सिनामंगल बस्ने १९ वर्षीय अफताब अन्सारीसँग मिलेर टिकटकमार्फत भिडियो पोस्ट गरेको तथ्य खुलेको हो। उनीहरूले प्रयोग गरेको टिकटक आइडी SS_VLOGS (@ssvlognp10) रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

प्रहरीका अनुसार भिडियोमा सार्वजनिक निकायको गतिविधि र सुरक्षाकर्मीको कार्यप्रणालीलाई व्यंग्यात्मक रूपमा देखाइएको थियो, जसले सामाजिक सञ्जालमा गलत सन्देश फैलाउने जोखिम सिर्जना गरेको ठहर गरिएको छ।

दुवै जनालाई कार्तिक ३ गते दिउँसो साढे ३ बजे फरक–फरक स्थानबाट पक्राउ गरिएको हो। श्रेष्ठलाई कागेश्वरी मनोहरा नगरपालिका–२ तीर्थचोकबाट र अन्सारीलाई सिनामंगलबाट नियन्त्रणमा लिइएको प्रहरीको विवरणमा उल्लेख छ। उनीहरूबाट प्रयोग भएका एक थान Samsung Galaxy A14 5G मोबाइल र एक थान GoPro Hero 9 Black क्यामेरा पनि बरामद गरिएको छ।

प्रहरीले दुवै जनामाथि थप अनुसन्धान सुरु गरेको र कानुनी कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जनाएको छ।

सामाजिक सञ्जालमा जिम्मेवार प्रयोग नहुँदा कानुनी विवादमा पर्ने घटनाहरू बढ्दै गइरहेका बेला ट्राफिक प्रहरीको यो कदमले डिजिटल अनुशासन र अभिव्यक्तिको सीमाबारे नयाँ बहस उठाएको छ।