महेश बस्नेत पक्राउ नभएसम्म धर्ना! शोभा पाठक आज साइबर ब्युरोमा जलुससहित

काठमाडौं — पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बेइज्जतीको मुद्दा दायर गरेकी शोभा (जानुका) पाठकले सोमबार बिहान साइबर ब्युरो अगाडि जलुस लिएर धर्ना बस्ने घोषणा गरेकी छन्। उनले नेपाल आजको फेसबुक पेजमा पठाएको सन्देशमा लेखेकी छन् — “म ठिक १० बजे साइबर ब्युरोमा जाँदैछु। यतिबेलासम्म पक्राउ नगरी खुलेआम छोड्नाले मेरो ज्यान खतरामा परेको छ।”
पाठकका अनुसार सरकारी वकिलको निर्देशनपछि पनि प्रहरीले बस्नेतलाई नसमात्नु न्याय प्रणालीमाथिको ठट्टा हो। उनले लेखेकी छन् — “मलाई कसैले उजुरी दियो भने दुई घण्टामा समाउने र महेश बस्नेतलाई खुलेआम छोड्ने कानुन कुन हो? साइबर प्रमुख नविन्द्र अर्यालसँग नै भेटेर सोध्नेछु।”
उनले न्याय माग्न धर्ना बस्ने बताउँदै सबैलाई आफ्नो साथ दिन आह्वान गरेकी छन् — “न्यायको भिक माग्दा नपाइने देशमा अब म मौन बस्दिनँ। न्याय चाहने सबै आउनुहोस्।”
साइबर ब्युरोकाएक अधिकारीले भने प्रतिक्रिया दिँदै भने, “मामिला अनुसन्धानको चरणमा छ। कानुन अनुसारै अघि बढ्छ।”
यो घटनाले राजनीतिक र कानुनी दुवै तहमा चर्को बहस निम्त्याएको छ—सामाजिक सञ्जालमा धेरैले प्रश्न गरिरहेका छन्, “एकजना शक्तिशाली पूर्वमन्त्रीलाई किन ‘कानुनभन्दा माथि’ राखिएको हो?”