बैंकिङ

अब बैंक धाउनुपर्ने छैन! एन आई सी एशियाले सुरु गर्‍यो घरबस्‍तै प्यान अद्यावधिक सेवा!

अब बैंक धाउनुपर्ने छैन! एन आई सी एशियाले सुरु गर्‍यो घरबस्‍तै प्यान अद्यावधिक सेवा!

एन आई सी एशिया बैंकले आफ्ना सबै ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले आयकर ऐन, २०५८ बमोजिम ग्राहकको खाताबाट काटिने कर विवरण नेपाल सरकारको आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्था भएकाले यो प्रक्रिया आवश्यक भएको जनाएको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले मंगलबार जारी विज्ञप्तिमा ग्राहकले आफ्नो प्यान जानकारी अनलाइन माध्यम वा शाखा कार्यालयमार्फत अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार ग्राहकले बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एपमा रहेको “PAN Update” विकल्प प्रयोग गरेर आवश्यक विवरण तुरुन्तै भर्न सक्नेछन्।

बैंकका अनुसार प्यान अद्यावधिक भएपछि ग्राहकका खाताबाट कटौती गरिएको ब्याजकरको विवरण स्वतः राजस्व प्रणालीमा समायोजन हुनेछ, जसले गर्दा कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनेछ। बैंकले प्यान अद्यावधिक नगरेका ग्राहकका ब्याजकर विवरण राजस्व प्रणालीमा नदेखिने र त्यसबाट हुने समायोजन वा अतिरिक्त कर सम्बन्धी जिम्मेवारी ग्राहककै हुने स्पष्ट गरेको छ।

बैंकका अनुसार यो प्रक्रिया लागू भएपछि कर प्रशासन र बैंकबीचको विवरण मिलान स्वचालित हुने र ग्राहकलाई कर सम्बन्धी सेवामा पारदर्शिता तथा सहजता मिल्नेछ। उनले भने, “हामी ग्राहकका लागि कर सम्बन्धी सम्पूर्ण अभिलेखलाई डिजिटल रूपमा एकीकृत बनाउँदैछौं, जसले बैंकमा अनावश्यक भीड घटाउनेछ र कर चुक्ता प्रक्रिया सहज हुनेछ।”

बैंकले प्यान उपलब्ध गराइसकेका तर विवरण अभिलेखमा समावेश नभएका ग्राहकहरूलाई नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्र (फोन १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न आग्रह गरेको छ।

एन आई सी एशिया बैंकले यो पहललाई ग्राहक सेवामा डिजिटल पारदर्शिता र कर प्रणाली सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको बताएको छ। यसले भविष्यमा वित्तीय प्रणाली र कर प्रशासनबीचको समन्वयलाई अझ सहज र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।