कैलाली कारागारबाट भागेका मध्ये ३७३ कैदी फर्किए, अझै २९२ फरार!

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते कैलाली कारागारबाट फरार भएका कैदीबन्दीमध्ये ३७३ जना स्वेच्छिक रूपमा कारागार फर्किएका छन्। स्थानीय प्रशासनले असोज २० गतेसम्म फर्किन समयसीमा तोकेपछि उक्त अवधिभित्र कैदीहरू फर्किएको कारागार प्रशासनले जनाएको छ।
जेलर चिरञ्जिवी सापकोटाका अनुसार फर्केकामध्ये ११ जना कैदीले आफ्नो सजाय अवधि पूरा गरिसकेका छन् र कानुनी प्रक्रिया अनुसार रिहा भएका छन्। उनका भनाइमा, “समयसीमा समाप्त भएकाले अब नफर्केका कैदीबन्दीमाथि पक्राउ अभियान सञ्चालन गरिनेछ।”
जेन–जी आन्दोलनको उत्कर्षका बेला ६६६ जना कैदीबन्दी कारागारबाट भागेका थिए। तीमध्ये हालसम्म ३७३ जना पुनः कारागार फर्किएपछि अझै २९२ जना फरार रहेका छन्। प्रशासनले बाँकी कैदीबन्दीको खोजी र नियन्त्रणका लागि प्रहरी परिचालन तीव्र बनाएको जनाएको छ।
भदौ अन्त्यतिर भएको अराजक गतिविधिमा देशभरका कैयौँ कारागारमा कैदी भाग्ने घटनासँगै सुरक्षा व्यवस्थामा कमजोरी देखिएको थियो। अहिले कैलाली कारागारमा सुरक्षात्मक पूर्वाधार मजबुत बनाउने र प्रहरी निगरानी कडाइ गर्ने तयारी भइरहेको छ।
स्थानीय प्रशासनका अनुसार स्वेच्छिक रूपमा फर्केका कैदीलाई कानुनी सहुलियत दिइनेछ, तर नफर्केकालाई सामान्य अपराध होइन, विद्रोही गतिविधिमा सहभागी ठहर गरी कारबाही प्रक्रिया अघि बढाइनेछ। कैलाली कारागार पुनः व्यवस्थापनतर्फ फर्किए पनि बाँकी फरार कैदीहरूको खोजी र नियन्त्रण अबको मुख्य चुनौती बनेको देखिन्छ।