नयाँ दलको मुकुन्डो उत्रियो ! आशिका भन्छिन्— 'स्कुलका साथी र ठेकेदारको छोरा सांसद?
वैकल्पिक राजनीतिको आशा बोकेर उदाएका नयाँ दलहरूले पनि पुरानाकै पथ पछ्याउँदै नातावाद र कृपावादलाई प्रश्रय दिएको भन्दै सामाजिक अभियन्ता आशिका तामाङले गम्भीर आक्रोश व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै उनले नयाँ दलहरूबाट कुनै गल्ती नहुने र पुरानाले औंला उठाउने मौका नपाउने अपेक्षा गरे पनि यथार्थ फरक देखिएको बताएकी छिन्। तामाङले निमुखा वर्ग, जाति र सीमान्तकृत समुदायका लागि छुट्याइएको समानुपातिक आरक्षणको कोटाको चरम दुरुपयोग भएको आरोप लगाउँदै, ती स्थानमा 'मिस नेपाल', नेताका ससुरा, देश बेचुवा ठेकेदारका छोरा र आसेपासेहरूलाई भर्ती गरिएको दाबी गरेकी छिन्।
तामाङको यो अभिव्यक्ति हालै सार्वजनिक भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको विवादास्पद समानुपातिक सूचीतर्फ लक्षित देखिन्छ। उनले व्यंग्यात्मक शैलीमा छिमेकी र बाल्यकालका स्कुल पढ्ने साथीलाई समेत सांसद र मन्त्री बन्ने अवसर दिइएको भन्दै 'नयाँ' भनिएका शक्तिहरूको 'पोलिटिकल कोर्स' माथि प्रश्न उठाएकी छिन्। पछिल्लो समय कुलमान घिसिङले आफ्ना ससुरा र भान्जालाई तथा रास्वपाले 'मिस नेपाल' शृङ्खलाका अनुहारहरूलाई प्राथमिकता दिएको भन्ने समाचारहरू बाहिरिएसँगै तामाङको यो आलोचनाले सार्वजनिक असन्तुष्टिको प्रतिनिधित्व गरेको छ। उनले गरिब र पछाडि पारिएकाहरूको अधिकार खोसेर पहुँचवाला र सम्भ्रान्त वर्गलाई पोस्ने प्रवृत्ति नयाँ दलमा पनि झाँगिएकोमा दुःख व्यक्त गरेकी छिन्।
निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिक बन्दसूची बुझाए लगत्तै सुरु भएको यो विवादले 'मिसन ८४' वा '०८२' को नारा बोकेका दलहरूको नैतिक धरातलमा कम्पन ल्याइदिएको छ। आशिका तामाङले औंल्याए जस्तै, परिवर्तनको संवाहक दाबी गर्नेहरूले नै लोकतान्त्रिक पद्धतिको छिद्र प्रयोग गरी 'आफ्ना मान्छे' व्यवस्थापन गर्न थालेपछि मतदातामा नैराश्यता छाउनु स्वाभाविक हो। विधि र पद्धतिको रट लगाउने नयाँ नेतृत्वले व्यवहारमा भने पुरानै सामन्ती संस्कार दोहोर्याएको यो घटनाक्रमले आगामी निर्वाचनमा नयाँ दलहरूको विश्वसनीयतामाथि गम्भीर चुनौती खडा गर्ने निश्चित प्रायः देखिन्छ।
आशिका तामाङ