समानुपातिकको 'खुला लुट' ? भावना राउतको प्रश्न— 'कलाकार र पहुँचवालालाई किन आरक्षण?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका नयाँ राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा 'ब्रान्डेड अनुहार' र पहुँचवालाहरूको हालीमुहाली देखिएपछि जेनजी आन्दोलनका प्रतिनिधि एवं सामाजिक अभियन्ता भावना राउतले कडा आपत्ति जनाएकी छिन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले यदि समानुपातिक सूची नसच्याइएमा आफूहरूले प्रत्यक्षमा व्यक्तिको अनुहार हेरेर मत दिए पनि समानुपातिक तर्फ पार्टीलाई अन्धाधुन्ध समर्थन नगर्ने स्पष्ट चेतावनी दिएकी हुन्। दिवङ्गत नेता उज्जवल थापाको विचारलाई उद्धृत गर्दै उनले राजनीतिमा प्रश्न गर्न र नेतृत्वलाई जवाफदेही बनाउन नसके 'अन्धभक्त' भइने र त्यो मुलुकका लागि धोका हुने तर्क गरेकी छिन्। उनले रास्वपाले बहुमत प्राप्त गरोस् र बालेन साह प्रधानमन्त्री बनून् भन्ने आफ्नो चाहना भए पनि नैतिक मूल्य मान्यता साटेर र गलतलाई सही ठानेर समर्थन गर्न नसकिने बताएकी छिन्।
राउतले समानुपातिक निर्वाचन प्रणालीको मूल मर्ममाथि नै नयाँ दलहरूले प्रहार गरेको गम्भीर आरोप लगाएकी छिन्। सुदूरपश्चिम, मधेस, दलित र जनजाति समुदायलाई आन्दोलनको अग्रमोर्चामा राखिए पनि सत्ता र निर्णयको कुर्सीमा भने पुनः सहरका सम्भ्रान्त र 'ब्रान्डेड' अनुहारलाई नै विराजमान गराइएको उनको भनाइ छ। निर्वाचन लड्न सक्ने आर्थिक शक्ति, मिडिया पहुँच र जनमत भएका कलाकार, क्रिकेटर र गायकहरूले समानुपातिक कोटा ओगट्नुलाई उनले अवसरविहीनहरूको अधिकार खोस्ने 'खुला धोका' को संज्ञा दिएकी छिन्। "पुरानाले गरेको अन्याय दोहोर्याएर तिमीहरू कसरी नयाँ राजनीति भएको दाबी गर्छौ?" भन्दै उनले आफूलाई वैकल्पिक शक्ति भन्नेहरूले नै प्रणालीलाई कब्जा गरेकोमा आक्रोश व्यक्त गरेकी छिन्।
यसैबीच, समानुपातिक सूचीमा नातावाद र कृपावाद हावी भएको भन्दै रास्वपाभित्रै पनि आन्तरिक असन्तुष्टि चुलिएको छ। पार्टीका कतिपय नेताहरूले नै समानुपातिक पद्धतिको मर्म विपरीत नेतृत्वले आफन्त र पहुँचवालालाई च्यापेको भन्दै विरोध जनाएको बुझिएको छ। अभियन्ता राउतले यस्तो चरित्रले व्यवस्था बदल्नुको साटो आम नागरिकको विश्वास मार्ने र एकपटक विश्वास मरेपछि कुनै विकल्प बाँकी नरहने चेतावनी दिएकी छिन्। समर्थन गर्न पहिलो पंक्तिमा उभिने तर प्रश्न सोध्न पनि पछि नहट्ने उनको प्रतिबद्धताले नयाँ भनिएका दलहरूको नैतिक धरातल र 'मिसन ८४' वा आगामी निर्वाचनको कार्यदिशामाथि गम्भीर बहस सिर्जना गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भावना राउत