समाचार

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

लुम्बिनी । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै मंसिर २२ गते लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न गरेको छ।

बौद्ध दर्शन र दुई देशबीचको सांस्कृतिक सम्पर्कलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका माननीय प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरे।

कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षु तथा लुम्बिनी विकास कोषका पदाधिकारी गरी उल्लेख्य संख्या सहभागी भए।

महोत्सवमा भारत र नेपालका कलाकारहरूको संयुक्त प्रस्तुति गरिएको थियो। भारतकी ओडिसी नृत्याङ्गना सन्ध्या कुञ्जन मेनन दासको नेतृत्वमा आएका छ सदस्यीय आईसीसीआर समूहले बौद्ध विषयवस्तुमा आधारित नृत्य प्रस्तुति दिए। नेपाली ब्यान्ड ‘घुगु मुगु’ ले परम्परागत संगीतका विविध धुन प्रस्तुत गर्दै साँझको सत्रलाई जीवन्त बनायो।

यसै क्रममा सोही दिन बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा “इन्डिया–नेपाल बुद्धिस्ट हेरिटेजः अ कमन लिगेसी” शीर्षकको शैक्षिक गोष्ठी पनि आयोजना गरिएको थियो। गोष्ठीमा भारत–नेपालका ख्यातिप्राप्त बौद्ध विद्वानहरूले साझा बौद्ध सम्पदाले दुई राष्ट्रबीचको सांस्कृतिक सम्बन्ध, सहकार्य र जनता–जनताबीचको सम्बन्ध सुदृढ गर्न राख्ने भूमिकाबारे विचार व्यक्त गरे।

भारतीय राजदूतावासका अनुसार महोत्सवले नेपाल–भारतबीच रहेको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य पूरा गरेको छ।

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव