चीनका अर्बौं डलरका विमानस्थल अब बेघरका लागि आश्रयस्थल

चीनका अर्बौं डलर खर्च गरेर बनाइएका विमानस्थलहरू, जो कहिल्यै देशको प्रगतिका प्रतीक मानिन्थे, अहिले "निःशुल्क होटल" मा परिणत भएका छन्। व्यापक रोजगारी कटौती, डिग्रीहरूको अवमूल्यन, र विद्यार्थीहरूका आर्थिक समस्याका कारण यी भव्य संरचनाहरूले नयाँ रूप लिएका छन्। बीजिङको ८० अर्ब युआन (झन्डै ११ अर्ब अमेरिकी डलर) लागतमा निर्मित डासिङ अन्तर्राष्ट्रिय विमानस्थल यसको प्रमुख उदाहरण बनेको छ। खुल्ला भएको पाँच वर्षपछि यो विमानस्थल रातभर सयौं बेघर तथा बेरोजगार व्यक्तिहरूको अस्थायी आश्रयस्थल बनेको छ।
हरेक रात, जब अध्यारो पर्छ, विभिन्न समूहका मानिसहरू विमानस्थलका कुर्सी तथा आरामदायी ठाउँहरूमा ओत लाग्छन्। कोही सोफामा निदाउँछन्, कोही आफ्नै सिरक-ओढ्ने बोकेर विमानस्थलमै रात बिताउँछन्। यीमध्ये अधिकांश होटलमा बस्न नसक्ने युवा जागिरे, सरकारी जागिर वा स्नातकोत्तर परीक्षाको तयारी गरिरहेका विद्यार्थी, र महानगरमा संघर्षरत श्रमिकहरू छन्। विमानस्थलका कर्मचारीहरू पनि यी मानिसहरूलाई चिन्छन्, तर शान्ति भंग नगरेसम्म उनीहरूलाई हटाइँदैन।
अवस्था यति बद्लिएको छ कि पाँच वर्षअघि युवाहरू अवसर खोज्दै बीजिङ आउने गर्थे, तर आज उनीहरू पैसाको अभावमा जोगाउने उपायहरूमा दक्ष बन्न बाध्य भएका छन्। डासिङ विमानस्थलको वरिपरि ३ किलोमिटर क्षेत्रभित्र सस्तो होस्टल, २४-घण्टा खुल्ने पसल, सामान भण्डारण सेवा र साना फार्मस्टेहरू खुलेका छन्, जसले यी "ड्रिफ्टर" हरूलाई अस्थायी राहत दिइरहेका छन्।
बीजिङ कैपिटल अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा सयौं मानिसहरू निद्रामा मग्न देखिन्छन्। आगमन हलका कुर्सीहरूमा कोही निदाइरहेका छन् भने बिदाइ कक्षमा रहेको स्टारबक्स पसलमै कोही काम गरिरहेका छन्, कोही निदाइरहेका छन्।
डासिङ मात्र नभई ग्वान्झाउ बाइयुन, छेन्दु सुवाङलियु लगायतका ठूला शहरका विमानस्थलहरू पनि राति आश्रयस्थलजस्तै बनेका छन्। हरेक विमानस्थलमा लामबद्ध कुर्सी, बेन्च तथा सोफा छन्, जसमा मानिसहरू निदाइरहेका हुन्छन्। यो अवस्थाले चीनको शिक्षित युवाहरूको संघर्षलाई उजागर गर्छ।
विगतमा बीजिङको एक प्रतिष्ठित प्रविधि कम्पनीमा काम गर्ने एक पूर्व-प्रोग्रामर रोजगारी गुमेपछि वेन्झाउ फर्किए, तर त्यहाँको तलब बीजिङको तिहाइ मात्र थियो। बीजिङ फर्केर उनले तीन महिनामा सयौं रिज्युमे पठाए, अनगिन्ती अन्तर्वार्ता दिए, तर बाँच्न पुग्ने जागिर पाइएन। यो समस्या प्रविधि क्षेत्रमा व्यापक छ। आईबीएमको बीजिङ रिसर्च सेन्टरले एकै पटक हजारौं कर्मचारी हटायो। अलिबाबा, टेन्सेन्ट जस्ता कम्पनीहरू "अभिमुखीकरण" (रोजगारी कटौती) गर्दैछन्। स्नातक तथा स्नातकोत्तर डिग्री भएकाहरू समेत बेरोजगार छन्।
कोभिडपछिको अर्थतन्त्र पुनरुद्धार गर्न कठिन भएसँगै, विदेशी लगानी चीनबाट हट्यो। २०१८ मा ५०,००० स्टार्टअपले लाखौं जागिर सिर्जना गरेका थिए। २०२३ मा मात्र १,२०० स्टार्टअप खुले, जसले ९५% अवसर हरायो। यसले प्रविधि तथा अन्य क्षेत्रका उच्च शिक्षित युवाहरूलाई विमानस्थलमा रात बिताउन बाध्य बनाएको छ।
अघिल्लो पुस्तालाई शिक्षा नै सफलताको ढोका थियो, तर आज चीनमा शिक्षा मात्रले भविष्य सुरक्षित गर्दैन। साना सहरका गरीब परिवारका विद्यार्थीहरूलाई लाग्थ्यो कि अध्ययनले उनीहरूको भाग्य बदल्नेछ, तर हकीकत फरक देखिएको छ। चीन अहिले दोस्रो ठूलो अर्थतन्त्र भनिए पनि शिक्षित युवा विमानस्थलमा रात बिताइरहेका छन्, वृद्ध मजदुर चिसोमा काम खोज्दैछन्। समृद्धिको नाममा बनाइएका अर्बौं डलरका विमानस्थलहरू आज बेघरको आश्रयस्थल बनेका छन्।