समाचार

कतारमा बसेका कागजातविहीन कामदारका लागि सुनौलो मौका! आममाफीपछि बिनाजरिमाना स्वदेश फर्कन सकिने

कतारमा बसेका कागजातविहीन कामदारका लागि सुनौलो मौका! आममाफीपछि बिनाजरिमाना स्वदेश फर्कन सकिने

कतार सरकारले गैरकानुनी रूपमा बसेका र कागजातविहीन आप्रवासी कामदारलाई आममाफी प्रदान गरेको छ। कतारको आन्तरिक मन्त्रालयका अनुसार आप्रवासीहरूको प्रवेश, निकास, र निवास नियमन गर्ने २०२५ को कानुन नम्बर २१ उल्लंघन गर्नेहरू अब तीन महिनाभित्र बिना कुनै जरिमाना स्वदेश फर्कन पाउनेछन्।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार रेसिडेन्सीसम्बन्धी कानुन उल्लंघन गर्ने, प्रवेश भिसाको अवधि भन्दा बढी बस्ने, वा आवासीय परिचयपत्र नभएका श्रमिकहरू ९ फेब्रुअरीदेखि लागू गरिएको आममाफी योजनामा सहभागी हुन सक्नेछन्। तोकिएको अवधिभित्र स्वदेश फर्किन चाहनेहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल वा सलवा रोडस्थित खोज तथा अनुगमन विभागमा गएर प्रक्रिया पूरा गर्नुपर्नेछ

कतार सरकारले यो आममाफी योजना ९ फेब्रुअरीदेखि ९ मेसम्म लागू गरेको छ। यस निर्णयसँगै त्यहाँ अवैधानिक रूपमा बसेका नेपाली कामदारहरूलाई स्वदेश फर्किन सहज हुनेछ। दोहास्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाउन सहजीकरण गर्ने जनाएको छ।

हाल कतारमा ३ लाख १२ हजार ६५० नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्, जसमा ११ हजार ९० जना महिला छन्। तर, कति नेपाली अवैधानिक रूपमा बसिरहेका छन् भन्नेबारे कुनै आधिकारिक तथ्यांक छैन।

कतार