चुलोबाट सल्किएको आगोले लियो ज्यान! तुलसीपुरकी ६४ वर्षीया महिलाको दर्दनाक मृत्यु

तुलसीपुर, दाङ – तुलसीपुर उपमहानगरपालिका–१९ संग्रामकी ६४ वर्षीया इश्वरी वलीको खाना पकाउने क्रममा आगलागीबाट ज्यान गएको छ।
माघ २१ गते साँझ करिब ७ बजे घरमा खाना बनाउने क्रममा चुलोबाट अचानक कपडामा आगो सल्किँदा वली गम्भीर रूपमा घाइते भएकी थिइन्। पेटदेखि घुँडासम्म जलेकी उनलाई उपचारका लागि चिनारी अस्पताल, तुलसीपुर लगियो। अवस्था गम्भीर भएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल हुँदै कीर्तिपुर अस्पताल, काठमाडौं रेफर गरियो।
तर, कीर्तिपुर अस्पतालमा समेत उपचार सम्भव नभएपछि माघ २८ गते बिहान ५ बजे वलीलाई पुनः राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर ल्याइयो। गम्भीर घाउका कारण आज बिहान ७ः३० बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्यबहादुर रानाले पुष्टि गरेका छन्।
हाल शव अस्पतालमै राखिएको छ। यो घटनाले खाना पकाउने समयमा सावधानी नअपनाउँदा गम्भीर दुर्घटना हुनसक्ने खतरा रहेको देखाएको छ। सुरक्षित चुलो प्रयोग गर्न र आगलागीको जोखिम न्यूनीकरण गर्न सचेत रहनु सबैका लागि आवश्यक छ।
तुलसीपुर, दाङ